२०७७ चैत्र ३१ , मंगलबार

वाणिज्य बैंकहरुको औसत सीसीडी रेसियो ७७.८७ प्रतिशत

Bank

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुको औसत कर्जा पुँजी र निक्षेप अनुपात (सीसीडी रेसियो) ७७.८७% रहेको छ । यसले वाणिज्य बैंकहरुसँग पर्याप्त मात्रामा लगानी योग्य रकम रहेको देखाउँछ ।

 

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रीक नीतिमार्फत वाणिज्य बैंकको सीसीडी रेसियोको सीमा ८५% पुर्याएको थियो । तर, अहिले कुनै पनि वाणिज्य बैंकहरुको सीसीडी रेसियो ८५% पुगेको छैन । अहिले कर्जा प्रवाहलाई आक्रामक बनाएका वाणिज्य बैंकको सीसीडी रेसियो पनि ७९% देखि ८०% सम्मको सीमामा रहेको केन्द्रीय बैंकले जनाएको छ । यसले अझै वाणिज्य बैंकहरुसँग सीसीडी रेसियोको सीमा न्यूनतम पनि ५% बाँकी रहेको देखाउँछ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुसँग लगानी योग्य रकमको आभाव हुन थाल्यो भनेर भ्रम फिजाउने काम भइरहेको एक वाणिज्य बैंकका सीइओले बताए । उनले भने, ‘अहिलेको सीसीडी रेसियोलाई नै हेर्ने हो भने पनि बैंकहरुसँग लगानी गर्न प्रर्याप्त पुँजी रहेको देखिन्छ ।’

 

 

अहिले कुनै पनि बैंकको सीसीडी रेसियो ८०% भन्दा माथि नरहेको उनले बताए । विगतका वर्षमा लगानी योग्य पुँजी अभाव हुँदै धेरै बैंकको सीसीडी रेसियोले सीमा नाघ्ने गरेको थियो । अहिले त्यो अवस्था नरहेको उनले बताए । कोरोनाले शिथिल पारेको अर्थतन्त्रका केही क्षेत्र चलायमान भएपनि अझै सबै क्षेत्र पूर्ण रुपमा चलाएमान नहुँदा बैंक तथा वित्तीय संस्थामा प्रयाप्त मात्रामा तरलता रहेको जानकारहरुले बताउँदै आएका छन् । नयाँ ऋणको मागमा कमी आउनु र लगानीका धेरै क्षेत्र शिथिल हुँदा सबै पैसा बैंकमा थुप्रिएको बैंकरहरूको बुझाई छ ।

 

दोस्रो चरणको कोरोनाको सन्त्रास फैलिएकाले पनि कतिपय व्यवसायीले तत्कालका लागि ऋण लिन बन्द गरेका छन् । भारतमा दोस्रो चरणको कोरोना महामारीकै रूपमा फैलिन थालेको छ । भने, कति राज्यमा त लकडाउन नै भएको छ । त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । यस्तो अवस्थामा बैंकमा ऋण माग्न आउनेको संख्यामा कमी आएकाले पनि बैंकमा पैसा थन्किएको हो ।