२०७७ चैत्र ३१ , मंगलबार

निजामती प्रशासन समयसँगै चल्न सकेन : उपप्रधानमन्त्री पोखरेल

1

सुनाखरी न्युज/ काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन समयसँगै चल्न नसकेको टिप्पणी गरेका छन्। बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विभिद पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको बताएका हुन्।

 

‘अहिले निजामती प्रशासन भित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव हो‚’ उनले भने‚ ‘यसलाई विरासतमा पाएको भन्ने गरिए पनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रूपमा यसलाई बुझ्नु पर्दछ। त्यसैले होला निजामती प्रशासनले परिणामभन्दा पनि प्रक्रियालाई जोड दिने गरेको छ।’कर्मचारीतन्त्र आफैँमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए। ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृतिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठने गरेको उनको भनाइ छ।

 

उपप्रधानमन्त्री पोखरेलले म्याक्स वेबरको वेबेरियन मोडलको कर्मचारी तन्त्रका सकारात्मक पक्षलाई ग्रहण गर्दागर्दै पनि कर्मचारी तन्त्रका नकारात्मक पक्षलाई हटाउन नसकिएको पनि बताए। कर्मचारीतन्त्र निष्प्रिय, असंवेदशील र जड समूह नभएकाले कर्मचारीतन्त्रले आफूलाई संवेदनशिल, गतिशील मानवहरूको विवेकशील समूहको रूपमा स्थापित गर्न सक्नुपर्ने बताए। शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मुल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिकमैत्री कार्यशैलीबाट लोकप्रिय बनाउन आवश्यक रहेको पनि उनले बताए।
रासस