२०७७ चैत्र ३१ , मंगलबार

राष्ट्रिय गौरवको कर्णाली कोरिडोर निर्माण तीव्र

Capture

सुनाखरी न्युज/ हुम्ला – राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा अघि बढेको छ । केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो ।

 

तर चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याएपछि धेरै महिनादेखि रोकिएको निर्माण कार्यले पुनः गति लिएको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताए । सिमिकोट–हिल्सा सडक खण्डमा च्याछरा चट्टाने भीर तथा सडकमा रहेका विभिन्न चेनेजमा कडा चट्टानहरु फुटाउने कार्य तीव्र गतिमा भइरहेको छ । २ महिनाभित्र यस खण्डको ‘ब्रेक थ्रु’ भई सिमिकोटदेखि चीनको नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्गबाट सजिलै यात्रा गर्न सकिनेछ । त्यसैगरी, सिमिकोट सल्लिसल्ला खण्डमा रहेको सल्लिसल्लाको भीर ब्रेकर करिब १ महिना लगाएर फुटाइसकेको छ । यसर्थ, हुम्लाको चङ्खेली गाउँपालिका हुँदै १२ किलोमिटर ट्र्याक सडक सर्केगाड गाउँपालिकाको दुल्लीकुनासम्मा खुलिसकेको छ । अहिले त्यहाँ ट्र्याक्टरसमेत पुगिसकेको अवस्था रहेको सपना धुलिखेल जेभी काठमाडौंका आधिकारिक प्रतिनिधिले जानकारी दिए । अब दुल्लीकुनाको भीर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायतका उपकरण सुर्खेतबाट ल्याउने तयारी भइरहेको छ ।

 

भीर फुटाउने कामसमेत चाँडै सुरु हुने उनले जानकारी दिए । खार्पुनाथ गाउँपालिकामा रहेको बोक्चेगौंडामा ४०० मिटरको भीरबाट अब एक्साभेटर मेसिन छिर्न सक्ने पि एस दि क्याराभान कङ्ग्री जेभीका स्थानीय प्रतिनिधि क्याछोक लामाले बताए । योजना कार्यालय सिमिकोटबाट प्राप्त जानकारी अनुसार अब ट्र्याक खोल्न करिब १५ किलोमिटर मात्र बाँकी छ । विशेषगरी असाध्यै अप्ठ्यारो छारे भीर करिब १ किलोमिटर रहेकामा उक्त भीरको एलाइन्मेन्ट छलेर २ वटा बेलिब्रिज पुल जडान गर्न बाँकी छ । साथै, निर्माण व्यवसायीले निर्माण कार्यमा तदारुकता देखाए हुम्ला जिल्लाको सदरमुकाम जोड्ने कार्य अबको १ वर्षभित्र सकिने देखिन्छ ।
रासस