२०७७ चैत्र ३१ , मंगलबार

सामान्य मान्छे – २०१६

prakash-chandra-

डा.प्रकाशचन्द्र लोहनी – एकदिन म पूजामा संलग्न थिए । म सगै बसेका पुरेत विरनाथ संस्कृतमा श्लोकहरु वाचन गरिरहेका थिए । मलाई संस्कृत भाषाको ज्ञान छैन । विरनाथले भटेयाउदै गरेको श्लोकको कुनै अर्थ मैले बुझेको थिइन । तर समय–समयमा वीरनाथ केही श्लोक भने अति ठुलो स्वरमा जोड दिएर भन्थे । यो मलाई अलि अचम्म लाग्यो ।

 

मैले सोधे, “वीरनाथजी, तपाईले यो भरखर जोड दिएर भनेको संस्कृत श्लोकको अर्थ के हो ? वीरनाथले यस्तो प्रश्न सायद मबाट आसा गरेको रहेनन् । उनी अलि आश्चर्यमा परेका थिए । तर फेरी सम्हालिएर मपट्टि हेरेर मुसुक्क हासेर भने, “यो श्लोकको अर्थ के भने जसले शास्त्र बुझ्दैन, त्यो काम नलाग्ने व्यक्ति हो ।”पद्मोदय हाइस्कुलमा ६ दशक अगाडि जेजति संस्कृत पढेको थिए । त्यो पनि बिर्सिसकेको थिए । अचानक पुरेतले संस्कृत श्लोकको अर्थ नबुझ्ने ब्यक्ति काम नलाग्ने भनेको सुन्दा साँच्चिकै जिल्ल परे । वीरनाथले मेरो अनुहारमा देखिएको भाव सायद बुझेछ्न । उनले तुरुन्त भने, “हेर्नुस, संस्कृतको श्लोक नबुझ्ने मान्छे काम नलाग्ने भनको सत्ययुगको लागिमात्रै हो । आज हामी कलियुगमा बाँचेका छौ । त्यसकारण काम नलाग्ने भनाइ आजको युगमा चल्दैन ।

 

अब मलाई पनि तर्क गर्न मन लाग्यो । अलिकति खोकेर भने, “अव तपाई त संस्कृत बुझ्नुहुन्छ र सायद वेद पनि बुझ्नुहोला । त्यसैले तपाई त कलियुगमा पनि महत्वपूर्ण हुनुभयो । तर म जस्ताको लागि त कलियुगमा आसै भएन । त्यसैले तपाइले प्रार्थना गर्दा मलाई भगवानसित यो मेरो जजमान कुनै खास गुण नभएको अति सामान्य मान्छे भनेर खवर पु¥याए कसो होला !” मैले अलि व्यंग्यको दृष्टिकोणले भने । अव वीरनाथको पालो । उनले भने “यो कुरो पनि ठिकै हो । तर के तपाई साँच्किै सामान्य मानिस हुन सक्नुहुन्छ र ?” अब म आश्चर्यमा परेँ र भने, “म किन सामान्य मान्छे हुन नसक्ने ? म सामान्य मान्छे हु ।”मेरो कुरा सुनेर वीरनाथ हासे र भने, “ए तपाइको बिचारमा सामान्य मान्छे हुनु सजिलो छ । यो तपाइको भ्रम हो । हेर्नुस्, सामान्य भएर बाँच्नु यो संसारमा सबैभन्दा गाह्रो र साहसिलो काम हो र यस प्रयासमा लाग्नेहरुलाई धेरैले सोझो, मुर्ख र पागल पनि भन्नेछन् । आफुलाई ठुला बृद्धिजीवी, राजनीतिज्ञ, प्रशासक, पत्रकार इत्यादि सम्झने सबै खाले मानिस अरुसंग कुरा गर्दा सामान्य मान्छे भनेर देखाउन चाहन्छन् । तर मनभित्र उनीहरु अरुभन्दा आफुलाई धेरै ठुलो ठान्छन् । यो कुरो तपाईले महसुुस गर्नुभएको छ कि छैन ? म अलि झस्किएँ र भने, “तपाईको भनायको मतलव के हो ?”

 

वीरनाथले कस्सिएर भने, “तपाई अफ्नैबारे विचार गर्नुहोस् । तपाईं जस्तै राजनीतिमा लागेका मान्छे गाउँमा गाउँलेको सामु तपाईहरुजस्तै सामान्य जनता हुँ भनेर भाषण गर्नुहुन्छ । तर के तपाईं आफू साँच्चिकै सामान्य मान्छे हु भन्ने कुरा भित्रबाट स्वीकार्नुहुन्छ ? जनता समक्ष तपाईभित्र अरुभन्दा म फरक छु, ठुलो छु र मैले धेरै जानेको छु भन्ने भावना पालेर राख्नुभएको छ कि छैन ? वीरनाथले थपे, “मेरो यो भनाइ तपाईलाई आलोचना गर्न होइन, तर विचार गनुर्स, हाम्रो देशमा राजनितीज्ञहरु हरेक पटक भाषण गर्दा प्रजातन्त्र र जनताको नाम लिन्छन् र प्रजातान्त्रिक मूल्य र मान्यताका लागि संघर्ष गरेको भन्छन् । तर यथार्थमा हेर्दा यिनीहरु सवैका लागि प्रजातन्त्र र जनता शव्द नै भ्रष्टाचार गर्ने र मागिखाने भाडो भएको छैन र ? सच्चिकै यिनीहरु सामान्य मानिस भएको भए यस्ता दुईजिब्रे कुरा गर्ने थिएनन् र मुखमा रामराम बगलीमा छुराजस्तो व्यवहार गर्ने थिएनन् । किनभने सँच्चिकै कोही सामान्य मानिस हो भने उसको बोली र व्यवहार एकनास हुन्छ । ” म एकछिन हातमा लिएको फुल देउताको मूर्तिमा चढाउन पनि बिर्से । वीरनाथको भनाइमा हामी आफुप्रति नै बेइमान छौं । किनभने हाम्रो बोली र व्यवहारमा सामञ्जस्यता रहँदैन । अनि मैले भने, “तपाईको भनाइमा त म सामान्य मान्छे हुन असामान्य हुनुप¥यो ?”

 

“होइन, त्यस्तो होइन,” वीरनाथ भन्दै गए, “तपाई सामान्य मान्छे अर्थात् चिन्तन, वचन र कर्ममा सामञ्जस्यता भएको मान्छे हो कि होइन भनेर पहिले आफुलाई सोध्नुहोस् । आफ्ने अगाडि रहेको ऐनलाई हटाएर एकपल्ट आफुभित्रको ऐनामा हेर्नुुस् ।” “यो कसरी सम्भव छ ?”मैले भने, “ऐना नभई मैले आफ्नो अनुहार कसरी हेर्ने !” वीरनाथ हाँसे र भने, “यो सजिलो छ । एकपटक आँखा बन्द गर्नुहोस र तपाई अरुको अगाडि आफुलाई जसरी प्रस्तुत गर्नुहुन्छ, त्यो तपाई हो कि होइन भनेर सोध्ने हिम्मत गर्नुहोस् । तपाईको अनुहारको लागि वास्तवि ऐना त्यही हो ।” मैले प्रश्न गरे, “यो भित्र र बाहिरको ऐना र सामान्य मान्छेको परिभाषामा के सम्बन्ध छ र ?” वीरनाथले मलाई गम्भीर भएर हेरे र भने, “ठिक कुरा गर्नुभयो । हेर्नुस्, जब तपाईको भित्री यथार्थता र बाहिरी अनुुहार बीचको दुरी घटेर जान्छ, तपाई विस्तारै सरल र सामान्य मान्छे बन्दै जानुहुन्छ । तर यही कुरोबाट हामी तर्सिन्छौं, किनभने हाम्रो अहं र लोभले हामीलाइ सामान्य मान्छे बन्न रोक लगाउछ । अनि जिन्दगीभर हामी जे होइनौं, त्यही कुरोबाट अरुलाई प्रभावित पार्न खोज्छौं र यसो गर्दगर्दै पृथ्वी छाड्ने बेला आएको पत्तै हुदैन ।”

अब म जिल्ल परे । अनि सोधे, “तपाईको भनाइमा त सामान्य मान्छे त बालकमात्र हुन्छ, किनभने उसको बोली र व्यवहारमा फरक हुदैन । अब के सामान्य मान्छे हुन हामी बालकजस्तै हुनुपर्ने ?” “किन नहुने ? ” वीरनाथले उल्टो मलाई प्रश्न गर्दै भने, “तर एउट सर्त छ । बच्चाको जस्तो सरलता बारे पूर्ण सचेतन मन कायम गर्न सक्नुभयो भने त्यसबखत मात्र तपाई सामान्य मान्छे बन्नुहुन्छ । यो एउटा प्रक्रिया हो र निरन्तर जिन्दगीभर जारी रहने यात्रा हो ।” यो सब सुनेपछि मैले वीरनाथलाई सोधे, “यो सब कुरो तपाईलाई थाहा छ भने सामान्य हुने यो यात्रामा तपाई कहाँ पुग्नु भयो ?” वीरनाथ मुस्कुराए र भने, “मैले तपाईको कुरा बुझे । जिन्दगीको दौडमा मैले धेरैपटक सामान्य मान्छे हुन भुलेको छु । सामान्य मान्छे भएर बाच्न सफल भएको छैन । तर मेरो प्रयास जारी छ ।” मैले एकपटक वीरनाथलाई हेरे, अनि अगाडिको मूर्तिमा आँखा चिम्लिएर शून्य भावले फुल चढाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको फेसबुका बाट