२०७७ माघ १३ , मंगलबार

महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको स्थापना

Capture

सुनाखरी न्युज/ कास्की – जिल्ला प्रहरी कार्यालय कास्की मातहत ईलाका प्रहरी कार्यालय हंसपुर मुकाम शिशुवा कास्कीको हाता भित्र नवनिर्मित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल बाट समुद्‌घाटन गरिएको छ ।

 

महिला बालबालिका तथा जेष्ठ नागरिक माथि हुने गरेका हिंसाका घटना तथा अपराध अनुसन्धानमा चुस्तता ल्याउन तथा बालबालिकाहरुलाई सोधपुछ तथा अनुसन्धान गर्नको लागि बालबालिका मैत्री वातावरण तयार गरी प्रहरी कामकारवाहीमा चुस्तदुरुस्त, छिटोछरितो रुपमा सम्पन्न गर्नको लागि टेवा पुर्‍याउने उद्देश्यका साथ स्थानीय स्तरबाट कृष्णहरी भण्डारीको अध्यक्षतामा निर्माण समिति गठन गरी स्थानीय निकाय, बिभिन्न संघ संस्था, ब्यक्ति तथा प्रहरी श्रमदानबाट ईलाका प्रहरी कार्यालय हंसपुर मुकाम शिशुवा कास्कीको हाताभित्र ३ कोठे पक्की भवन निर्माण गरी एक कार्यक्रमका बीच समुद्‍घाटन सम्पन्न गरिएको छ ।

 

भवन निर्माण समितिका अध्यक्ष कृष्णहरी भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामुदायीक सेवा केन्द्र लेखनाथका कार्य समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, विभिन्न संध संस्थाका प्रतिनिधी सहितको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी  प्र.ना.म.नि.ले नागरिक र प्रहरी मिलेर नै समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्न सकिने भन्दै भवन निर्माण तथा अन्य श्रोतसाधनहरुको निर्माण गरी प्रहरी सेवा प्रवाहलाई सहजता प्रदान गर्नुभएकोमा सम्पूर्णमा हार्दिक धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।