२०७७ माघ १२ , सोमवार

पृथ्वीनारायण शाह अध्ययन केन्द्र अनुसन्धाताका लागि खुला

Capture

सुनाखरी न्युज/ काठमाडौं – सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा स्थापित पृथ्वीनारायण शाह अध्ययन केन्द्र राष्ट्रनिर्माता र नेपालको एकीकरणबारे अध्ययन र शोध गर्न चाहने विद्यार्थी एवं अनुसन्धानकर्ताका लागि खुला गरिएको छ ।

 

राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेको उक्त केन्द्र पृथ्वीनारायण र नेपालको एकीकरणको इतिहास एकैथलोबाट अध्ययन एवं अनुसन्धानका रुपमा विकास गर्ने लक्ष्यका साथ स्थापना भएको हो । अहिले राष्ट्रनिर्माता र एकीकरण अध्ययन केन्द्र रहे पनि भविष्यमा यसलाई अनुसन्धान केन्दका रुपमा विकास गर्ने लक्ष्य लिइएको उपरथी सहदेव खड्काले जानकारी दिए । मुलुकभित्र वा बाहिरका सम्पूर्ण देशप्रेमी, इतिहासँग सम्बन्धित व्यक्ति, इतिहास जान्न इच्छा राख्नेले राष्ट्रनिर्माता र एकीकरणसम्बन्धी प्रकाशित वा अप्रकाशित कुनै पनि तथ्यपरक सामग्री पनि उक्त केन्द्रमा उपलब्ध गराउन सक्ने सेनाले जनाएको छ ।

 

सेनाले इतिहासका विद्यार्थी र इच्छुक अनुसन्धानकर्तालाई केन्द्रबाट भरपूर लाभ लिन अनुरोध गरेको छ । मुलुभर छरिएर रहेका पृथ्वीनारायण र एकीकरणसम्बन्धी सम्पूर्ण सामग्री एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले उक्त केन्द्र स्थापना गरिएको हुँदा केन्द्रमा प्राप्त सामग्री उचित संरक्षण हुने जनाइएको छ ।