२०७७ माघ १५ , बिहिवार

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्च अदालतको आदेश

suprem court

सुनाखरी न्युज/ काठमाडौं – सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश जारी गरेको हो ।

 

शैक्षिक सत्रको मध्यतिर नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने कि नगर्ने भनि दर्ता भएको मुद्दाले शैक्षिकसत्र नै गुम्ने जोखिम बढ्दै गएको सरोकारवालाको चिन्ता थियो । विद्यार्थी, शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरुले नयाँ वा पुरानो कुन पाठ्यक्रम लागू गर्ने भन्ने विषयमा अदालतले शिघ्र निर्णय लिनुपर्ने बताउँदै आएका थिए । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय तहको नयाँ पाठ्यक्रम प्रारुप स्वीकृत गरेपछि देशभरका अधिकांस शिक्षण संस्थामा त्यहीअनुसार पठनपाठन भइरहेको छ । चालू शैक्षिक सत्रमा कक्षा १ र ११ मा लागू भइसकेको पाठ्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

 

नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाण्डु र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर असोज २८ मा रिट दायर गरेका थिए ।