२०७७ माघ १३ , मंगलबार

नवीकरण छुटेका निजी फर्म दर्ताका लागि चैत २० सम्मको समयावधि थप

1

सुनाखरी न्युज/ काठमाडौं – सरकारले कोभिड–१९ का कारण दर्ता नवीकरण हुन नपाएका निजी फर्म दर्ताका लागि आगामी चैत २० गते सम्मको समयावधि थप गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राइभेट फर्म रजिस्ट्रेशन तेह्रौं संशोधन नियमावली २०७७ मा संशोधन गर्दै आगामी चैत २० सम्मका लागि समयावधि थप गरेको हो ।

 

निजीक्षेत्रले गतवर्ष चैत ११ देखि कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी गरिएको बन्दाबन्दीका कारण फर्म नवीकरण गर्न नपाएको भन्दै सरकारसँग समय थपको माग गरेको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले नवीकरण छुटेका फर्महरूलाई विना कुनै विलम्ब शुल्क तथा जरीवाना नवीकरण गर्न मन्त्रालयले विभागलाई निर्देशन दिईसकेको जानकारी दिए ।

 

यसैबीच सरकारले २०४२ सालयता नवीकरण छुटेका निजी फर्महरूका लागि कारण देखाई निश्चित जरीवाना तिराएर नवीकरणका लागि आवेदन गर्ने बाटो समेत खोलेको छ । प्रवक्ता सेढाईंले २०४२ मा विभागमा ५ लाख निजी फर्म दर्ता भएकोमा तीमध्ये आधाभन्दा कम फर्महरूले मात्रै नवीकरण गरेको बताए ।