२०७७ माघ १५ , बिहिवार

कमिसन नबढाए आफैँ मूल्य बढाएर बिक्री गर्ने पेट्रोलियम व्यवसायीको तयारी

Capture

सुनाखरी न्युज/ काठमाडौं – आफ्नो कमिसन नबढाए १ माघदेखि पेट्रोलियम पदार्थको मूल्य आफूखुसी वृद्धि गरेर बिक्री गर्ने पेट्रोलपम्प व्यवसायीहरूले तयारी थालेका छन्। आयल निगमलाई साताअघि ज्ञापनपत्र बुझाउँदै पेट्रोलियम व्यवसायीको छाता संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोल, डिजेल बिक्री गर्दा ५ प्रतिशत कमिसन पाउनुपर्ने माग राखेर यस्तो ज्ञापनपत्र दिएका हुन्।

 

हाल पेट्रोलपम्प सञ्चालकहरूले पेट्रोलमा ३.१२ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन पाउँदै आएका छन्। सरकारले तोकेको मूल्यमा पेट्रोलियम कारोबार गर्दै आएका व्यवसायीलाई निगमले नाफा र सञ्चालन खर्च तोकिदिने गरेको छ । तर, पछिल्लो चार वर्ष नाफाको दर एउटै भएको र यो अवधिमा सञ्चालन खर्च बढेकाले कमिसन वृद्धिको माग राखेको एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए। ‘हामीले २–३ वर्षदेखि एउटै कमिसनदरमा काम गर्न सक्दैनौँ, बढाउन माग गर्दै आएका छौँ, तर सुनुवाइ भएको छैन,’ उनले भने, ‘त्यसैले यसपटक बाध्य भएर कमिसन वृद्धि नगरे उपभोक्ता मूल्य नै बढाएर बिक्री गर्ने निर्णयमा पुगेका हौँ।’

 

अन्य देशको तुलनामा नेपालमा ज्यादै थोरै कमिसनमा काम गरिरहनुपरेको उनको जिकिर छ । देशभर करिब १५ सय पम्प रहेका र तीमध्ये ३५ प्रतिशत पम्प मात्रै नाफामा सञ्चालन भइरहेको उनको भनाइ छ । मुलुकभरका पेट्रोलपम्पले दैनिक १५ लाख लिटर पेट्रोल र ४८ लाख लिटर डिजेल बिक्री गर्दै आएका छन् । एसोसिएसनको तथ्यांकअनुसार भारतमा पेट्रोलमा ४.१ प्रतिशत र डिजेलमा ३.१३ देखि ३.४ प्रतिशतसम्म कमिसन दिइन्छ । त्यस्तै, पाकिस्तान र चीनमा ४–४ प्रतिशत तथा श्रीलंका र अमेरिकामा ५–५ प्रतिशत कमिसनमा पम्प सञ्चालन भइरहेको एसोसिएसनले जनाएको छ। ‘हामीले ठूलो रकम माग गरेका छैनौँ । आयल निगमले वार्षिक ५–६ प्रतिशत नाफा राख्ने गरेको छ । सोही दरमा हामीलाई पनि कमिसन दिइयोस्, त्यतिले पुर्‍याउँछौँ भन्न खोजेका हौँ,’ उनले भने । माग सुनुवाइ नभए मूल्य बढाएर बिक्री गर्न बाध्य हुने उनले चेतावनी दिए ।

 

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पेट्रोलपम्प व्यवसायीको ज्ञापनपत्र आएको र छलफल भइरहेको बताए। ‘व्यवसायीले बारम्बार कसिमन वृद्धिका लागि पत्रहरू दिइरहनुभएको छ। हामी समस्या समाधानका लागि पहल गरिरहेका छौँ,’ उनले भने, ‘यस्तो विषम परिस्थितिमा कमिसन वृद्धि नभए आफूखुसी मूल्य बढाएर बिक्री गर्ने कुरा सुहाउँदो होइन।