२०७७ माघ १३ , मंगलबार

इतिहासको त्यो रात

Capture

सुबाष गिरी – आज भन्दा झन्डै १ सय ७५ वर्ष अघि वि.सं. १९०३ मा नेपालमा यस्तो एउटा विभत्स हत्याकाण्ड घटेको थियो, जसको कारणले देशलाई जहानिया राणा शासन जस्तो क्रुर र निरङ्कुश व्यवस्था तिर धकेलेको थियो । जुन हत्याकाण्ड नेपालको इतिहासमा कोतपर्वकोनामले परिचित छ ।

 

यो यस्तो हत्याकाण्ड थियो, जसमा जंङ्गबहादुर राणाले आफ्ना भाई भारदारसँग मिलेर आफ्ना सम्पूर्ण विपक्षिहरुको एकै रातमा हत्या गरेका थिए । हत्या भएका व्यक्तिहरुमा देशका तत्कालिन प्रधानमन्त्री सहित राज्यका उच्च पदस्थ अधिकारीहरु थिए ।त्यतिखेर तत्कालिन नेपालका प्रधानमन्त्री फत्तेजंग शाह, दलभञ्जन पाँडे, वीरकेशर पाँडे लगाएतका ३१ जनाको रगतको खोला कोतको परिसरमा बगाईएको थियो । यस घटनामा ११ चौतारिया, ६ पांडे, ३ थापा र ११ अन्य भारदारको हत्या भएको थियो । रानीको बिश्वासपात्र गगनसिंहको हत्यारा पत्ता लगाउन भेला भएका भारदारहरु बीच विवाद हुँदा मच्चिएको यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०४ वर्षे राणा शासनतिर सुम्पेको थियो ।

 

यस घटनालाई सुरुबाट नियाल्दा, वि.सं. १८९४ मा राजा राजेन्द्र बिक्रम शाहले भीमसेन थापालाई अपदस्थ गरेपछि नेपालमा अन्योलको वातावरण सिर्जना भएको थियो । राजेन्द्र महत्वाकांक्षी त थिए तर उनको कमजोरी यो थियो कि उनले आफ्नी दुई रानीका कार्यकलापलाई समेत नियन्त्रण गर्न सकेका थिएनन् । उनका दुवै रानी त्यत्तिकै महत्वाकांक्षी थिए र दुवैले आ–आफ्नै स्वार्थ सिद्धिका लागि भारदारहरूका दुई प्रमुख समूहलाई आफूतर्फ मिलाएका थिए । जेठी रानी साम्राज्यलक्ष्मीले पाण्डेहरूको सहयोग प्राप्त गरेकी थिइन् भने कान्छी रानी राज्य लक्ष्मीदेवीलाई थापाहरूको समर्थन थियो । भीमसेन थापाको पतनको लगत्तै साम्राज्यलक्ष्मीको जोडले रणजंग पाण्डे मुख्तियार त भए तर उनी कहिले गुरु रंगनाथ त कहिले चौतारिया पुष्कर शाहको नेतृत्वमा रही काम गर्न बाध्य भए । केही वर्षपछि रणजंग शक्तिशाली मुख्तियार त बने तर उनको अंग्रेज सरकारप्रतिको नीतिले गर्दा राजेन्द्रले उनलाई पदबाट हटाए ।

 

वि.सं. १८९८ मा साम्राज्यलक्ष्मीको मृत्युपछि नेपालको राजनीतिमा कान्छी रानी लक्ष्मीदेवीले हस्तक्षेप गर्न थालिन् । उनले भारतमा बस्दै आएका भीमसेन थापाका भतिजा माथवरसिं थापालाई नेपाल फिर्ता बोलाइन् र उनकै दबाबमा राजेन्द्रले माथवरलाई मुख्तियार बनाए । लक्ष्मीदेवीको स्वार्थ थियो युवराज सुरेन्द्र (साम्राज्यलक्ष्मीका छोरा) को अधिकार खोसी आफ्नै छोरा रणेन्द्रलाई राजा घोषित गर्नु । तर माथवर रानीको इच्छाअनुसार काम गर्न तयार थिएनन्, किनकि यसबाट ठूलो विद्रोह हुने सम्भावना थियो । विकल्पको रूपमा माथवरले राजेन्द्रलाई गद्दी त्यागको सल्लाह दिए, किनकि सुरेन्द्रलाई विधिवत् रूपमा राजा घोषित गरेपछि लक्ष्मीदेवीले आफ्नो छोरालाई राजा बनाउने हठ त्याग्नेछिन् भन्ने उनको धारणा थियो । तर महत्वाकांक्षी राजेन्द्र राज्य त्याग गर्ने पक्षमा थिएनन् । यसप्रकार माथवरले राजा र रानी दुवैलाई चिढाए । फलस्वरूप राजा र रानी दुवै मिली माथवरको हत्या गराए जसमा प्रमुख भूमिका लक्ष्मीदेवीका प्रिय पात्रहरू गगनसिंह र जंङ्गबहादुरले खेलेका थिए ।

 

माथवरको अन्तपछि चार महिनासम्म देशको शासन व्यवस्था मुख्तियारबिना नै चल्यो । लक्ष्मीदेवी गगनसिंहलाई मुख्तियार बनाउन चाहन्थिन् जबकि राजेन्द्र त्यसो गर्न तयार थिएनन् । अन्तत चौतारिया फत्तेजंगलाई मुख्तियारको पद त दिइयो तर राज्यपरिषद् मा गगनसिंह र जंङ्गबहादुरलाई पनि समावेश गरियो । रानीको प्रिय पात्र भएको नाताले गगनसिंह निकै शक्तिशाली थिए र उनको अधीनमा सात पल्टन फौज थियो जबकि फत्तेजंगको नियन्त्रण केबल तीन पल्टन फौज मात्रै थियो ।सबै महत्वपूर्ण निर्णयहरू लक्ष्मीदेवी र गगनसिंह गर्थे र राजा र मुख्तियार त्यसलाई औपचारिकता मात्रै दिन्थे । गगनसिंहको उदय राजा, मुख्तियार, जंङ्गबहादुर र अन्य भारदारका लागि एउटा चुनौती बनेको थियो ।

 

वि.सं. १९०३ भदौ ३१ को राति आफ्नै घरमा पूजा गरिरहेका बेला जनरल गगनसिंह हत्या भयो । गगनसिंहको हत्या कसले गर्यो भन्नेबारे लेखकहरूका भिन्नाभिन्नै धारणा छन् । कसैले राजा र मुख्तियारको मिलेमतोमा लाल झा नामका कुख्यात व्यक्तिले उनको हत्या गरेको भनेका छन् भने कसैले चाहिं जंगबहादुरले आफू शक्तिशाली बन्न आफ्ना भाइ बद्रीनरसिंहद्वारा उक्त हत्या गराएको भनी लेखेका छन् । गगनसिंहको हत्याको रहस्य सायद कहिल्यै पनि अगाडि आउँदैन । तर, गगनसिंहको उदय राजा, मुख्तियारलगायत कसैलाई मन परेको थिएन र उनको पतन लक्ष्मीदेवीबाहेक सबैले चाहेका थिए ।

 

वि.सं. १९०३ भदौ ३१ गते राति महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगन सिंह भण्डारीको रहस्यमय ढङ्गले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए । कोतमा सबैजसो भाइभारादार जम्मा भए भन्ने लागेपछी महारानी कौसीबाट गगनसिंहको हत्यारा पत्ता लगाई तत्कालै मार्ने र हत्याको बदला लिने पक्षमा थिइन् । उनले जंङ्गबहादुरलाई भेट्दा जंङ्गबहादुरले तीन पल्टन सिपाहीसाथ महारानीको सुरक्षा गर्ने निहुँमा कोतमा पसेका थिए । त्यो बचनले महारानीलाई चित्त बुझेको थियो ।

 

भारदारहरूले अपराधी पत्ता लगाउन नसक्दा महारानीले वीरकिशोर पाँडेलाई (वीर केशर पाण्डे) पुरानो कुराले शङ्का गरी निजलाई पक्रि मार्ने आदेश जनरल अभिमानसिंह रानालाई दिइन् । उता अभिमानसिंहले त्यसरी व्यक्तिले नमान्दानमान्दै हत्या गर्न श्री ५ महाराजको पनि हुकुम हुनुपर्छ भन्ने जबाफ दिए । त्यतिबेला कोतभित्र तनाबको वातावरण पैदा भएकै अवस्थामा राजा कोतबाट बाहिर निस्केका थिए ।

 

आफूले महारानीको आज्ञा पालना नगरेको र कोतको अवस्था भयानक हुँदै गएकाले अभिमानसिंह राना कोतको ढोका बाहिर जान र आफ्नो पल्टनसँग भेट गर्ने उद्देश्यले निस्कन लागे । तर महारानीले कसैलाई पनि बाहिर नपठाउन आदेश दिएको थाहा नपाएका अभिमानसिंहले पहरालाई धक्का दिई चुकुल खोल्न लाग्दा सिपाही युद्धवीर अधिकारीले अभिमानसिंहलाई सङ्गीनले घोची घाइते बनाइदिए। आफू मर्ने बेलामा “गगनसिंहलाई मार्ने जङ्गे हो” भनी कराएर आफ्नै रगतले भित्तामा पञ्जाछाप लगाई अभिमानसिंह छट्पटाउदै मरे।

 

अभिमानसिंहको मर्ने बेलाको वाक्यालाई सही हो भन्ने अड्कल गरेपछि चौतारिया फत्तेजंग शाह (तत्कालीन प्रधानमन्त्री) का छोरा खड्गबिक्रम शाहले जंङ्गबहादुरको बैइमानीलाई सजाय दिनै पर्छ भनी कराए ।तत्कालै जंगबहादुरको भाइ कप्तान कृष्णबहादुर कुंवरले “झुटा चौतारिया मुख समाल, हैन भने अभिमानसिंहको गतिमा पुर्याइदिउँला” भनेर राजखलकलाई तुच्छ बचन गरे । उक्त समयमा कोतमा न त राजा श्री ५ राजेन्द्र नै थिए न त रानी राज्यलक्ष्मी नै थिइन् ।सो अवसरमा जंङ्गबहादुरको नै शस्त्रअस्त्रसहितको भाइहरूको राज बन्यो । कृष्णबहादुरको तुच्छ बचन सुनेपछि चौतारिया खड्गबिक्रम शाहले हातमा भएको तरबार लिएर कृष्णबहादुर माथि जाइलागे । सो मारलाई कृष्णबहादुर का अर्का भाइ बमबहादुरले तरबार झिकी चौतारिया खड्गबिक्रम लाई काट्न लागेको देखि झटपट खड्गबिक्रमले आफ्नो तरबारले बमबहादुरलाई मार हान्दा कोतको दलान होचो भएकोले तरबार दलिनमा ठोकियोे बमबहादुरलाई खासै असर पुगेन । फेरी खड्गबिक्रमले बमबहादुरमाथि अर्को मार थप्न लागेको देखि जंङ्गबहादुरका अर्का भाइ कप्तान धीरशमशेरले आफ्नो तरबार तुरुन्तै निकाली खड्गबिक्रमको कम्मरमा प्रहार गरी उनको शरीरलाई दुई टुक्रा पारेर छुट्ट्याए ।

 

खड्गबिक्रमको मृत्यु भएपछि जगतशमशेरले जंङ्गबहादुर बसेको स्थानमा गई सो भिडन्तबारे सुनाए । डराएर जंङ्गबहादुरले प्रधानमन्त्री चौतारिया फत्तेजंग शाहलाई उनको छोराको मृत्यु भएको खबर भने । आफ्नो १८ वर्षीय एक मात्र छोराको जंङ्गबहादुरको खलकले मारेपछि फत्तेजंग रिसाउंदै रानी भएको सिसमहलतर्फ बढे । त्यतिकैमा जंङ्गबहादुरले आफ्नो पल्टनको हवलदार राममेहर अधिकारीलाई आँखा सन्काई प्रधानमन्त्री चौतारिया फत्तेजंग शाहलाई गोली ठोक्ने सङ्केत दिए । तुरुन्तै राममेहरले सिपाही रामबहादुर रानामगरलाई गोली हान्ने आदेश दिएपछि सिपाही रामबहादुरले गोली हानी प्रधानमन्त्रीको प्राण उडाए ।

 

त्यस पश्चात् कोतभित्र शुरुमा जंङ्गखलक र चौतारिया (राजखलक) बीच घमासान मारकाट चल्यो । चौतारिया खलकले जंङ्गबहादुरको बेइमानीलाई कुनै पनि हालतमा नछाड्न र राजपूत भएको नाताले पनि लडेरै ठीक पार्न कम्मर कसे । यस बेलासम्म ७∕८ जना चौतारिया काटिसकिएका थिए । चौतारियाहरूसँग तरबार थियो तर अन्य भारदारहरु बिल्कुलै निःशस्त्र थिए । यसरी विस्तारै जंङ्गखलक तथा चौतारिया, बस्न्यात, थापा र पांडे परिवारबीच मारामार पर्यो । अरुको हतियार नभएकोले मुड्कीले हान्ने र पछार्ने काम मात्र भयो । तर जङ्गपरिवार र पल्टनसंग हतियार भएकोले अरुलाई मुला काटेझैं काटे । करीब ३२ जनाकोे लासको थुप्रो लगएपछि कोतपर्व सकियो । नेपालका गन्यमान्य भाइभारदार बाँकी रहेनन् । “कोतमा त्यति धेरै मानिस किन मारियो“ भनी श्री ५ राजेन्द्रले जङ्गबहादुरलाई भोलिपल्ट सोद्घाखड्गबिक्रमले पहिला हतियार चलाएको हुनाले र श्री ५ बडामहारानीको हुकुम आफूले पालना गर्दा त्यसरी मानिस मारिएको जवाफ दिएका थिए । कोतपर्वपछि जंगबहादुर मुख्तियार बने र उनलाई कमान्डर इन चिफ र प्रधान सेनापति पदवी पनि दिइयो । वि.सं. १९०३ आश्विन २ गते राजा राजेन्द्रबाट लालमोहर पाएपछि जङ्गबहादुर कुँवर नेपालका विधिवत् मुख्तियार भएका थिए।

 

कोतपर्वमा मारिनेहरूको संख्या इतिहासकारहरु पिच्छे फरक फरक देखिन्छ । मर्नेहरुमध्ये प्रधानमन्त्री चौतारिया फत्तेजंग शाह, उनका छोरा चौतारिया खड्गविक्रम शाह, चौतारिया वीरबहादुर शाह, चौतारिया काजी दलबहादुर शाह, चौतारिया काजी प्रसाद शाह, जनरल अभिमानसिंह रानामगर, काजी दलभञ्जन पाण्डे, काजी रणगम्भीर पाण्डे, काजी रणजोर थापा, काजी नरसिंह थापा, काजी बखतवीर भण्डारी, काजी वीरकेशर पांडे, कपरदार कीर्तिध्वज पांडे, सरदार भवानीसिंह खत्री, सरदार समरबहादुर शाह, सरदार गणप्रकाश शाह, सरदार रससिंह, सरदार शत्रुभञ्जन शाही, सरदार युद्धरञ्जन शाही, काजी अर्जुन थापा, कप्तान मोहनवीर शाही, कप्तान वीरबहादुर शाही, बद्रीवान शाहीका छोरा (नाम थाहा नभएको), कुम्वेदान गैंडा मल्ल, ददा दण्डकेशर, द्वारे जोगराज, जमदार विष्णुभक्त, हवलदार कालु खवास, अर्दली इन्द्रवीर राउत आदि थिए । ती बाहेक जनरल गगनसिंह खवास आफ्नै घर ढोकाटोलमा मारिएका थिए । उक्त पर्वमा नपरेका र नमरेका तर सन्तान, नातेदार तथा नैतिक समर्थन दिई जङ्गखलकको बिरोध गर्नेहरुमध्ये खडानन्द उपाध्याय, कुईकेल ब्राह्मण,रंगनाथ खनाल आदिको जात च्युत गरी मुडेर लखेटिए। विशेष गरी ब्राह्मणहरूलाई नमार्ने धर्म भएकोले जात च्युत गरिएको थियो ।

 

यो विभत्स र दुःखलाग्दो स्थितिको नतिजा जङ्गबहादुर देशको प्रधानमन्त्री बने र १०४ वर्षको राणा शासनको उदय भयो । यस पर्वमा चौतारिया, पाँडे खलक, थापा खलक, बिष्ट, भण्डारी, आदि कुलका भारदारहरू एक चिहान बने (बस्न्यात खलक, भने जुठो परेकाले कोतमा उपस्थित हुन पाएनन् र बचे) भने जङ्गबहादुर र उनका भाइहरू शक्तिशाली भएर उदाए । यस पर्व सँगै जङ्गबहादुर प्रधानमन्त्री र मुख्तियार भए राणा शासनको उदय भयो । यही काण्डले जंगबहादुरको उदय भएको थियो ।