२०७७ माघ १३ , मंगलबार

प्याब्सन, कास्कीले मनायो ३१औँ प्याब्सन दिवस

sunakhari logo

सुनाखरी न्युज/ कास्की – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), कास्कीले आफ्नो स्थापनाको ३१औं वर्ष ‘३१औँ प्याब्सन दिवस’को रूपमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रेम नारायण अर्यालले कार्यक्रमको उद्घाटन मन्तब्य राख्दै यो देशको शिक्षाको विकासमा निजी क्षेत्रको उल्लेखनिय योगदान रहेको चर्चा गर्दै थप सफलताको लागि आफ्नो तर्फ बाट सधै साथ र सहयोग रहने कुरा व्यक्त गर्नुभयो । साथै हरेक विद्यार्थीमा केही न केही क्षमता हुने हुँदा त्यसको पहिचान गरी सिर्जनशिलतामा ध्यान दिनुपर्ने बताउनुभयो ।

 

प्याब्सनले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविष्कार केन्द्रलाई नगद रू २,००,००० (दुई लाख) हस्तान्तरण ग¥यो भने कोभिड १९ को जोखिम अझै कायम रहेको सन्दर्भमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई विवरण गर्ने गरी पोखरा महानगरपालिका, शिक्षा महाशाखालाई १०,००० (दश हजार) मास्क पनि हस्तान्तरण गरिएको थियो । उक्त सहयोग हस्तान्तरण प्याब्सन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्मा सुबेदी र प्याब्सनका अग्रजहरूले सामूहिकरूपमा गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि एवम् सामाजिक अभियन्ता÷राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष, सन् २००७ को Ramon Magsaysay Award प्राप्त गर्न सफल व्यक्तित्व महावीर पुनले प्याब्सनद्वारा प्रदान गरिएको नगद रू २,००,००० (दुई लाख) को सहयोग ग्रहण गर्दै प्याब्सनको यस उदाहरणीय कार्यको चर्चा गर्दै यस्ता सहयोगले राष्ट्रिय आविष्कार केन्द्रले थप कार्य गर्न सहयोग मिल्ने विचार राख्नुभयो । साथै समृद्घि हासिल गर्न पैसा कमाउनु पर्ने, पैसा कमाउन केही बेच्नु पर्ने र केही बेच्नका लागि उत्पादन एवम् आविष्कार गर्नुपर्ने रहेछ भन्ने कुरा बुझ्नन आफुलाई २२ वर्ष लागेको र त्यसपछि राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेको बताउनुभयो ।

 

आफ्नो स्थापनाको २५ वर्ष पूरा गरी रजत जयन्ती मनाउने क्रमका रहेका ६ वटा विद्यालयहरू, ग्लोबल कलिजियट स्कुल, नेपाल आदर्श आवासीय विद्यालय, रेन्बो एकेडेमिक होम्स् माध्यमिक विद्यालय, न्यू एरा एकेडेमी माध्यमिक विद्यालय, सबलाइम अंग्रेजी माध्यमिक विद्यालय र लिटिल डेफोडिल माध्यमिक बोर्डिङ स्कुललाई सम्मान गरियो । त्यस्तै २० वर्षसम्म निरन्तर सेवा गर्दै आएका शिक्षक÷कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा १८ जना शिक्षक÷कर्मचारीहरू हुनुहुन्थ्यो ।प्याब्सन, कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्मा सुबेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिब विष्णु शर्माले गर्नु भएको थियो भने स्वागत मन्तब्य कार्यक्रमका संयोजक एवम् प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष मथुरा प्रसाद पौडेलले राख्नु भएको थियो ।

 

प्याब्सन केन्द्रीय कार्यसमितिका सल्लाहकार डोलराज पाण्डेले प्याब्सनको परिचय सहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायण प्रसाद सुबेदी, पोखरा महानगरपालिका, शिक्षा शाखाका प्रमुख हेम प्रसाद आचार्य, प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष वीर बहादुर बुढाथोकी, हिसान, कास्कीका अध्यक्ष डा. रामजी शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेल, नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष रमेशमोहन भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।