२०७७ माघ १३ , मंगलबार

काठमाडौँ महानगरका विद्यालय माघ १ देखि खुलाउने तयारी

school

सुनाखरी न्युज/ काठमाडौँ – कोरोना भाइरसको महामारीपछि बन्द रहेका काठमाडौँ महानगर क्षेत्रका विद्यालय माघ १ गतेबाट खुलाउने तयारी थालिएको छ । स्वास्थ्य मापदण्ड पालनाका आवश्यक पूर्वाधारको तयारी तथा जोखिम आकलन विश्लेषणका लागि भन्दै महानगरले माघ १ देखि मात्रै विद्यालय खुलाउने तयारी थालिएको जानकारी दिएको हो ।

 

चालु शैक्षिक सत्रको तीन महिनामात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने टुंगो गरेको हो । कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर विद्यालय खुलाउन अनुमति दिइएको महानगरपालिकाका प्रवक्ता तथा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए । सरकारको निर्देशनअनुसार महानगरका विद्यालयहरुले गत असारबाट अनलाइन कक्षा भने चलाइरहेका थिए ।

 

अधिकांश विद्यालयले अनलाइन कक्षा चलाए पनि भौतिक कक्षाजस्तो प्रभावकारी हुन नसकेको शिक्षक तथा अभिभावकले बताउँदै आएका छन् । महानगरले आफू मातहतको मेट्रो एफएममार्फत रेडियो कक्षासमेत सञ्चालन गरिरहेको छ । शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांक अनुसार काठमाडौं जिल्लामा १ हजार ४ सय १५ विद्यालय छन् । तिनमा १ हजार १ सय ४० निजी र २ सय ७५ सामुदायिक छन् । महानगरपालिकाभित्र ९३ सामुदायिक र ६ सय ४२ संस्थागत निजी विद्यालय छन् ।