२०७७ माघ १३ , मंगलबार

नुवाकोटको थानापति मन्दिरमा लागेको मेला सम्पन्न

1

प्रबिण थपलिया/ शिवपुरी नुवाकोट  – नुवाकोटको थानापति मन्दिरमा लागेको मेला सम्पन्न भएको छ । लिच्छवीकालिन इतिहाँस बोकेको नुवाकोट जिल्ला शिवपुरी गाउँपालीका वडा नं ८ स्थीत थानापति मन्दिरमा धान्य पुणीमाको अघिल्लो रात पौष १४ गते लागेको मेला विहान महादिप सेलाए पछि आज सकिएको छ । थानापति मेलामा नुवाकोट जिल्लाका साथै छिमेकी जिल्लाहरु काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, रसुवा लगायत धेरै जिल्लाबाट भक्तजनहरु बत्ती बाल्न आउने गरेका छन् ।


धार्मिक, संस्कृति तथा एतिहाँसीक महत्व बोकेको उक्त थानापति मन्दिरमा लाग्ने मेलामा मनोकामना पूरा भएका तथा मनोकामना राख्नेहरुबाट ५ सयको हाराहारीमा महादिप र बत्तीहरु बाल्ने गरेकोमा यसपटक भने तीन सयको हाराहारीमा घटेको छ ।

 

थानापतिको एतिहाँसीक किम्बदन्ती
शिवपुरी गाँउपालीका ८ थानापतिमा रहेको उक्त मन्दीरको पौराणीक र एतिहाँसीक महत्वसंगै ठाँउको नाम थानापति राखिएको बताइन्छ । हजारौं बर्ष अगाडी हालको शिवपुरी गाउँपालीका ८ थानापति भित्र रहेको छहरे खोला र बोहरे खोलको बिचमा पर्ने स्थानहरुमा थपलियाहरुको बस्ती रहेको र उक्त स्थानमा रहेको बिर्ता जग्गाहरु राजाले हरण गरेपछि थानापतिले आफुहरु माथी अन्याय भएको भन्दै आत्मदाह गरेको किंबदन्तीहरु रहेको छ ।

बिर्ता जग्गा हरण भएपछि सवैतिर हार गुहार गर्दा समेत उक्त जग्गा पाउन नसकेपछि एकल महिला थानापती आमाले आफु सहित कान्छो छोरासंगै जलेर आत्मदाह गरेको बताइन्छ । तीन वटा छोराकी आमा थानापतिले एउटा छोरालाई पाटीभञ्जयाङ र अर्को छोरालाई सामरीभञ्ज्याङ नपुगी नहेर भनेर पठाएपनि आधाबाटो नपुग्दै दुवै छोराले आफनो घर तर्फ र्फकिएर हेर्दामा आगाको मुस्लो देखेपछि हतार हतार घर र्फकंदा आमा र भाई जलेर खरानी भएको देखेका थिए । थानापतिले आत्मदाह गरेपछि सो आगोको मुस्लो दरबार सम्म पुगेको तथा राजाले जे खान खोज्यो किरा र फोहर देख्न थालेपछि आफना सेनालाई बुझन पठाँउदा बिर्ताहरेकोमा आत्महत्या गरेको थाहा पाएपछि थानापतिले आत्मदाह गरेको स्थानको जग्गालाई बिर्ताकै रुपमा राख्न आदेश दिएका थिए ।

तत्कालीन राजाको आदेश पछि सार्वजनीक बिर्ताको रुपमा रहेको उक्त जग्गामा थानापतिको नाममा मन्दीर निर्माण गरीको थियो । थानापतिको नाममा निर्माण गरिएको उक्त मन्दीर हाल पुरातत्व बिभाग मार्फत २ करोडको लागतमा पुनर्निमाणको भै सकेको छ । थानापतिले आत्मदाह गरेको कुरालाई पुष्टी हुने खालका जलेका काठका गोलहरु समेत मन्दिर भित्र देखिन्छ । अन्यायका बिरुद्ध आत्मदाह गर्ने थानापतिको मन्दिरको पुजा र प्रसाद नलगाई थानापतिका धेरै थपलियापरिवारहरुले दशैंको टिका समेत लगाँउदैनन् । थानापतिले छहरे र बोहरे खोला भित्र बसोबास गर्नेहरुलाई संघै रक्षा गर्नेछन भन्ने जनविश्वासका कारण त्यस भित्र बसोबास गर्ने सवै जाती र व्यक्तिहरुले थानापतिलाई मान्दै आएर धान्य पुर्णिमाको दिनमा बत्ती समेत बाल्ने गरेका छन्।