२०७८ बैशाख ८ , बुधवार

विरोध प्रदर्शनका लागि कांग्रेस नेताहरू आफ्नै निर्वाचन क्षेत्र जाने

Congress

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा सोमबार हुने प्रदर्शनका लागि नेपाली कांग्रेसले नेताहरूलाई आफ्नै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुन भनेको छ। सभापति शेरबहादुर देउवा भने डडेलधुरा नजाने भएका छन्।

 

‘सभापति भक्तपुरमा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘उहाँ व्यस्तताका कारण डडेलधुरा जान सक्नु भएन।’कांग्रेसका शीर्षलगायत केन्द्रीय सदस्यहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुन भनिएको उनले जानकारी दिए।

 

कांग्रेसले १६५ वटा निर्वाचन क्षेत्रमा सोमबार प्रदर्शन गर्दैछ। प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधि सभा भंग गर्नुलाई कांग्रेसले असंवैधानिक भन्दै विरोध गरिरहेको छ।