२०७७ चैत्र ३० , सोमवार

पुस्तकको तिरोधान (अंक ७)

Dinesh Pandey

दिनेश पाण्डेय-
उपसंहार
कोही ब्राह्मण बस्तथे दिन कुनै द्वारावती धाममा
जन्मी पुत्र शरीर तत्क्षण छुटी चल्थे महामार्गमा ।
वर्षौँ दर्द खपेर बाहुन बसे उम्ल्यो र पीडाकथा
भेटी अर्जुनको परे शरणमा अर्पेर आफ्ना व्यथा ।।१।।

 

भन्छन् अर्जुनले म रोक्छु सजिलै जस्तोसुकै काल होस्
पत्नी डेलिभरी हुने पल ममा यो जानकारी रहोस्‌‌ ।
आई ब्राह्मणले भने समयमा पत्नी परिन् मारमा
लागे अर्जुन काल रोक्छु म भनी पाले बसी द्वारमा ।।२।।

 

लायौँ लाख उपाय यो पिर कसै छुट्तैन हे अर्जुन १
भन्छन् ब्राह्मण के गरी अब तिमी थुन्छौ दुलो यो थुन
यो गाण्डीव छ सर्वश्रेष्ठ यसको कत्रो बडो आबरु
बोले अर्जुन काल थुन्न नसके जल्नेछु ज्यूँदै बरु ।।३।।

 

यस्तो गर्व गरेर अर्जुन वहाँ पाले बनेको क्षण
जानी ढुक्क बसे सुरक्षित दुई ती दम्पती ब्राह्मण
पत्नीमा द्विजले दिए वचन यो चिन्ता नलेऊ जब
क्या आश्चर्य छ गर्भ रित्तिन गयो बच्चा बन्यो गायब ।।४।।

मर्थे जो पहिले शरीर त थिए यो पालि लासैतक
बेपत्ता कसरी भयो भन भनी केर्दा भएथे सब
लज्जा अर्जुनमा अदम्य भरियो मर्ने इरादा गरे
झुल्के कृष्ण झुलुक्क अर्जुन बचे वाचा पुरा भो भरे ।।५।

श्रीदामोदरको कृपा हुन गयो ल्याई सबै बालक
अर्पे अर्जुनले बडा गजबले आश्चर्य मान्छन् सब
जान्नन् ग्रन्थ कतै तिरोहित भई होलान् कता ती बरु
जाबो यत्ति कुरा छिचोल्न नसकी मर्ने भएँ के गरूँ ।।६।।

कक्षामा पनि एक एक भनियो वृत्तान्तको जो चुरो
छात्राछात्रहरू बडो रुचि लिई सुन्थे मजाले कुरो ।
आफै ज्ञान सिकाउने गुरुहरू गर्छन् हरे काम के
भन्दै शिक्षकका खिलाफ सबले जिब्रा निकाल्थे सखे ।।७।।

कैह्ल्यै राम र कृष्णका चरणमा गर्दो भयौ प्रेम न
कैह्ल्यै सत्य परोपकार कहिने गर्दो भयौ कर्म न
तिम्रो आयु बित्यो विवेकभुस भै के के कमायौ भन
यस्तै वृत्ति धरी अझै अघि बढे धिक्कार भो जीवन ।।८।।

भ्यागुता सिम भएतिर जान्छन्
फल्दछन् फल जहाँ खग जान्छन्
कर्मशील नरले वश पारी
श्री र दौलत उनैतिर तान्छन् ।।९।।
९स्वागता०

सुन्छु एकथरि भोग्दछु एक
भ्रष्ट छन् सकल नीति विवेक
झूट नै छ सबतर्फ विराज
लाज छैन जनमा किन आज ।।१०।।

लाज सर्म र घृणा पिर बाधा
ख्याल इज्जत इमान कुनै वा
डाहका वश परेपछि हुन्नन्
मूर्खमा नियमले पनि छुन्नन् ।।११।।

ती किताब कि कुनातिर कोची
बस्तछौ कि घरमा नित सोची
भोग उच्च अब गर्दछु भन्दै
पापकण्टक भरी मुटु घोची ।।१२।।

होमले अनल तुष्ट हुँदैन
वारिले जलधि तृप्त हुँदेन
सृष्टिको नियम यो बुझ साथी
भोगले मनुज उच्च हुँदैन ।।१३।।

रागले विषय केवल ताक्ने
जे गर्‍यो अझ गरूँ कि त लाग्ने
लोभ बढ्छ नित अन्तिम छैन
भोगले मनुज उच्च हुँदैन ।।१४।।

अर्थको अमन चैन गराई
व्यर्थ रोग अनि शोक बढाई
टुङ्गिँदैन कहिल्यै सुख दिन्न
भोगले मनुज उच्च भइन्न ।।१५।।

प्यास बढ्दछ र चढ्दछ मात
नीचतातिर पसार्दछ हात
चौरवृत्ति अति भो त्यज साथी
एक वार सब जानु छ माथि ।।१६।।

सर्प वा गजसमेत समाती
राख्तछन् मनुजले वशमा ती ।
चन्द्रमा अनि दिवाकरलाई
ग्रास राहु किन गर्दछ भाइ ।।१७।।

ज्ञानवान् जनहरू गरिबीमा
तड्पिँदै कति मिले पृथिवीमा
के विलाप म गरूँ लय हाली
भाग्य नै छ सबमा बलशाली ।।१८।।

चोरको मन फिरोस् नफिरोस् वा
ज्ञानशील नर होस् नरहोस् वा
सारदे १ अमरभारति १ मेरो
जिन्दगी भुलिरहोस् कवितामा ।।१९।।

राणाशासनको निरङ्कुशपना फाल्यो प्रजातन्त्रले
ल्यायो शासन जोडको मुलुकमा बेजोड संयन्त्रले ।
भन्दै छौँ गणतन्त्रका सम पुनस् अर्को कहाँ तन्त्र छ
तालाबन्द किताब आज सहजै डेरा जहाँ सर्दछ ।।२०।।

कोही घिच्छ रछान नै खिचिखिची आश्चर्यको सासले
कोही लुट्छ सतीत्व मातृगणको आनन्दको आसले ।
सारा ग्रन्थ दिनेशकै सम बनूँ भन्ने इरादा धरी
चोर्‍यो बुद्धि सडी फिराउँछ कहाँ ज्यूँदो महालासले ।।२१।।

 

सिङ्गो देश छियाछिया भइसक्यो अज्झै चिरा पारियून्
छैनन् न्याय कतै समग्र जनता तड्पाउँदै मारियून् ।
जो गर्छन् अपराध यो मुलुकमा टेवा दिई थामियून्
मेरा पुस्तक संग्रहालय कतै खोजेर थन्क्याइयून् ।।२२।।

यौटा काण्ड परेर बल्ल छिनियो अर्को उता ठिक्क छ
मेरो यो स्कुल काण्डका वश हुँदा उद्देश्य दिग्भ्रान्त छ ।
कैह्ले शिक्षकका अदम्य झगडा कैह्ले छ चोरीतक
तालाबन्द दराजबाट कसरी डेरा सरे पुस्तक ।।२३।।

यौटा पुष्पकली न फुल्छ डरले बास्ना न चल्दो छ यो
ठन्डीभित्र फसेछ आज कसरी बेचाम कक्रन्छ यो ।
फक्री फुल्न भनेर चाह गरियो चाहा सबै वैलियो
खुल्दो मौसम नै भसक्कन भयो के फक्रिएला र यो ।।२४।।

एकादेशबिसे असाध्य चतुरी यौटी बुहारी थिई
भन्थिन् ती हँसिया निलेँ सजिलरी सासू अचम्मै परी ।
बोलिन् काम गरिस् बडो गजबको के गीत यो गाउँछेस्
आपत् भोलि बिहान पर्दछ बुझिस् थाहा वहीँ पाउँछेस् ।।२५।।

कोही द्रव्य पचाउँछन् मुलुकका भण्डार फोरीकन
कोही ग्रन्थ पचाउँछन् अजब भो ताला नफोरीकन ।
आफ्नै मित्र मिले छली र नकली राखी तुला जोखियो
घोच्यो चित्त असाध्य खप्न नसकी पीडा बनी पोखियो ।।२६।।

कोहीमा पनि काम छैन तिनको पढ्थ्यौ भने बेस हो
यौटैले त सुबुद्धि हासिल गरे झन् बेसमा बेस हो ।
प्यारा शिक्षक मित्र शीघ्र भनिद्यौ यो श्वास चल्दैतक
तालाबन्द दराजबाट कसरी डेरा सरे पुस्तक ।।२७।।

पृथ्वी वायु र अग्नि वारि नभ यी जो पञ्चभूतादिक
मिल्दा जे जसको छ अंश उसमै हाम्रो वहीँ अन्त्य छ ।
जानी सृष्टि अनित्य नश्वर सबै बानी त्यजी कर्कश
छाडी मूषकवृत्ति मित्रजनले सत्कर्म गर्दै बस ।।२८।।

कालीदास र माघ भट्टि अथवा लक्ष्मीप्रसादादिक
राजा चन्द्र र सूर्यवंशज सयौँ दुष्यन्त यायातिक ।
राम्रा राजविधिज्ञ विश्वभरका सत्कर्मकै छन् भर
अर्पी ज्यान परार्थखातिर तिमी सत्कर्म गर्ने गर ।।२९।।

पौडी क्षारसमुद्रको तरणको वाचा गरी चित्तले
पर्दामा पृथिवी उचाल्छु सहजै यस्तो लिऊ आँट रे ।
बेँसी टार उपत्यका सहरले सञ्चार सन्देशले
छोटा वृत्ति सबै त्यजी अघि बढे भन्दैछ यो देशले ।।३०।।

मान्छे कल्ले बनायो तर किन रिसले जल्नुपर्ने बनायो
सारा प्राणी बनायो तर किन सबले ढल्नुपर्ने बनायो ।
चोरी ढाँटी भरेका विषयरसघडा भोग गर्नै नपाई
सारा संसार छाडी विवशवश उसै चल्नुपर्ने बनायो।।३१।।

 

पत्तो छ के र कहिले उडिजानुपर्छ
यद्वा कतै नरकमा बुडिजानुपर्छ ।
छाडेर लोभ अब दैनिक पुण्य साँच
कर्मानुसार सबले फल खानुपर्छ ।।३२।।

रोकूँ बखान कसरी मन यो नमान्ने
छैनन् किताब प्रभुजी किन यो नजान्ने ।
भो भो भनी विविध मित्र फकाउँदैछन्
आफै खटेर कि किताब लुटाउँदैछन् ।।३३।।

 

बचाऊ तेल पानी वा कच्चा बन्धनले तक ।
नदेऊ हात अर्काको भन्दछन् सब पुस्तक ।।३४।।
लेखनी पुस्तिका नारी बाटो लागे नफर्कने ।
फर्केमा नष्ट वा भ्रष्ट गिजोलिएर फर्कने ।।३५।।

 

श्वानको मुखको मासु होला फिर्ता कसो गरी ।
मित्र हो बुद्धि बिग्रेर चोरिहाल्यो कठैबरी ।।३६।।
गर्ला के अब ता फिर्ता गर्दैन लाजले पनि ।
शराह १ सारदे १ शम्भो १ गर्ला वा कि त तैपनि ।।३७।।

 

बनाऊँ एउटा ग्रन्थ चोरकै नाउँमा कसो
बन्नेछ काव्य साँच्चै नै यस्तै गर्दै जसोतसो ।।३८।।
चिन्ता छाडिदिएँ मैले अब जे जे भयो भयो ।
बताऊ मार्ग दोस्रो क्यै मित्र हो अब यो पुग्यो ।।३९।।

क्रमशः अर्को शनिवार