२०७७ चैत्र ३० , सोमवार

नक्साल तरकारी बजारमा डिजिटल बैंकिङ्गलाई प्रवद्र्धन गर्न क्यू आर कोडबाट भुक्तानीको सुरुवात

सुनाखरी न्युज/ काठमाडौं – डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत, नक्साल, काठमाण्डौ स्थित नक्साल तरकारी बजारमा क्यू आर कोड बाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ ।

 

नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा फलफुल तथा तरकारी खरिद गर्दा क्यू आर कोड बाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी भयो । यस तरकारी बजारमा अपवाद बाहेक सम्पूर्ण पसलहरुमा क्यू आर कोड बाट भुक्तानी गर्न सकिने छ । डिजिटल अर्थतन्त्रको विकासका लागि नेपाल राष्ट्र बैंकले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको परिप्रेक्ष्यमा यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिंदै दैनिक उपभोग गर्ने बस्तुहरुको खरिदमा डिजिटल बैंकिङ्गको प्रयोगलाई बढावा दिन यो नमुना मोडलको थालनी भएको भन्ने हामीले बुझेका छौ ।

 

कार्यक्रममा नेपाल राष्ट्र बैंक र सानिमा बैंकका कर्मचारी लगायत उपस्थित दर्शक तथा ग्राहकहरुले पनि Fonepay सञ्जाल अन्तर्गतका क्यू आर कोड बाट भुक्तानी गरी डिजिटल बंैकिङ्गको अनुभव लिनुभएको छ । डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरुलाई निःशुल्क क्यू आर कोड वितरण गरेको थियो । त्यसैगरी  Vianet Communication द्वारा निःशुल्क Wi-Fi को व्यवस्था गरेको छ ।