२०७७ चैत्र ३० , सोमवार

सेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घट्यो, हेर्नुस् अब कति लाग्छ ?

sebon

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घटेको छ । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्दै आएको कमिसन घटाएको हो ।बोर्डले प्रेस विज्ञप्ती जारी गर्दै यसअघि लाग्दै आएको कमिसनमा ३३ प्रतिशत, ५० प्रतिशत र ६० प्रतिशत घटाएको हो ।

बोर्डले सानो रकमको कारोबार गर्ने साना लगानीकर्तालाई कारोबार सेवाबापत लाग्दै आएको शुल्कमा ६० प्रतिशत शुल्क घटाएको छ । त्यस्तै, सरकारी र संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषका इकाई र अन्य धितोपत्र खरिद–बिक्रीमा लाग्दै आएको कमिसन शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको सेयरको खरिदमा लाग्दै आएको शुल्कमा ३३ प्रतिशत कटौती गरेको उल्लेख गरेको हो ।

अब कति लाग्छ शुल्क ?

बोर्डले जारी गरेको नयाँ शुल्कमा धितोपत्र व्यवसायीले सेयर कारोबारमा ०.२७ प्रतिशतदेखि ०.४० प्रतिशतसम्म कमिसन लिन पाउने व्यवस्था गरेको छ । बोर्डले ५० हजार रुपैयाँसम्मको कारोबारका लागि ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत तथा १ करोडभन्दा बढीको कारोबारमा ०.२७ प्रतिशत शुल्क कायम गरेको छ ।

यसअघि सेयर कारोबारमा लाग्दै आएको शुल्क ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म थियो । जसअनुसार ५० हजारसम्मको कारोबारका लागि ०.६० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारका लागि ०.५५ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको लागि ०.५० प्रतिशत, २० लाखदेखि १ करोडसम्मका लागि ०.४५ प्रतिशत र १ करोडभन्दा बढीका लागि ०.४० प्रतिशत शुल्क लाग्ने व्यवस्था थियो ।

त्यस्तै, राष्ट्र बैंकले जारी गरेको ऋणपत्र र अन्य संस्थागत ऋणपत्रको कारोबार गर्दा ५ लाखसम्मको लागि ०.१० प्रतिशत, ५ लाखदेखि ५० लाखसम्मको कारोबारका लागि ०.०५ प्रतिशत तथा सोभन्दा बढीको कारोबारका लागि ०.२० प्रतिशत शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

म्युचुअल फण्डका इकाईहरुको कारोबारका लागि भने ५ लाखसम्मका लागि ०.१५ प्रतिशत, ५ लाखदेखि ५० लाखसम्मको कारोबारका लागि ०.१२ प्रतिशत र सोभन्दा बढीको कारोबारका लागि ०.१० प्रतिशत शुल्क लाग्ने उल्लेख गरिएको छ ।

धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क घटाइएको सम्बन्धमा प्रेश बिज्ञप्ति