२०७८ बैशाख ३ , शुक्रवार

एकै चरणमा निर्वाचन गर्न आयोगको प्रस्ताव, आठ अर्ब खर्च लाग्ने अनुमान

1

सुनाखरी न्युज/ काठमाडौ – निर्वाचन आयोगले बैशाख १७ र २७ गतेका लागि तय भइसकेको प्रतिनिधि सभा निर्वाचनलाई एकै चरणमा सम्पन्न गर्न सरकारलाई प्रस्ताव गरेको छ । दुई चरणमा निर्वाचन गर्दा निर्वाचन व्यवस्थापनदेखि सुरक्षा व्यवस्थापनसम्मका खर्च बढ्ने र झन्झटिलो हुने भन्दै आयोगले एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिने प्रस्ताव गरेको हो ।

 

एकै चरणमा निर्वाचन गरौं भनेर हामीले प्रस्ताव गरेका छौं, एक चरणमा कि दुई चरणमा गर्ने भन्ने छलफल भइरहेको छ,’ आयोग स्रोतले भन्यो । आयोगले निर्वाचन घोषणा भएको मितिले १ सय २० दिन भित्र निर्वाचन सम्पन्न गरिसक्ने भन्दै सो प्रस्ताव गरेको हो । मिति घोषणा भएपछि आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहित आयुक्तहरुको टोलीले गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सो प्रस्ताव गरेका हुन । निर्वाचन घोषणा भएसँगै आयोग निर्वाचन कार्ययोजनाको तयारीमा समेत जुटिसकेको छ । संसद विघटनको घटनापछि सरकारको दुई चरणमा गर्ने गरी तोकिएको प्रतिनिधि सभाको निर्वाचनको तयारी गर्न आयोगले निर्वाचन कार्यायोजना तयार गर्दै गरेको हो । आयोगले कार्ययोजनामा निर्वाचन तालिका देखि निर्वाचन कार्यक्रम र खर्च तथा व्यवस्थापनका विषयलाई समेट्दै छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन कार्यतालिका, कार्यक्रम र खर्च सहितका सबै विषयलाई समेट्ने गरी आयोगले कार्ययोजनाको मस्यौदा बनाउँदै गरेको जानकारी दिए ।

 

निर्वाचन कार्यक्रम, तालिका, खर्च लयायतका विषय समेटेर आयोगले निर्वाचन कार्यतालिकाको मस्यौदाख बनाउँदै छ, यस पटक कोभिडका कारण सुरक्षाको सावधानीलाई समेत कार्ययोजनामा समेट्दै छौं,’ आयोगका प्रवक्ता श्रेष्ठले हाम्राकुरासँग भने । आयोगले अनुमानित खर्चको पनि आंकडा तयार पारिरहेको छ । प्राप्त सुचनाअनुसार करिब ८ अर्ब खर्च लाग्ने आयोगको अनुमान छ । आयोगका प्रमुख आयुक्त सहित आयुक्तहरुको टोलीले गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा नै करिब ८ अर्ब खर्चको विवरण सुनाएका थिए । दुई चरणको चुनाव बढी खर्चिलो, सुरक्षा तथा जनशक्ति परिचालनदेखि अनेक समस्या आउनेहुँदा एकै चरणमा गराउन हामीले प्रधानमन्त्रीलाई भेटमा अनुमानित खर्च सहित सुझाएका थियौं,’आयोगका एक आयुक्तले भने ।