२०७८ बैशाख ३ , शुक्रवार

ब्रोकर कमिसन घटाउन बोर्डमा छलफल, छिट्टै टुंगो लाग्ने

sebon

सुनाखरी न्युज/ काठमाडौ – पछिल्लो समय ब्रोकर कसिसन घटाउने विषयमा नेपाल धितोपत्र बोर्डमा दैनिक रुपममा छलफल हुन थालेको छ । छलफलले पटकपटक विद्यमान ब्रोकर कमिसन धेरै भएको निष्कर्ष निकालेको बोर्डका एक उच्च अधिकारीको भनाई छ । यसलाई घटाएर समय सापेक्ष बनाउने बोर्डको तयारी रहेको उनले बताए । तथापि, लामो समय बितिसक्दा पनि यस विषयमा बोर्ड नेतृत्वले निर्णय भने गर्न सकेको छैन ।

 

धितोपत्र बोर्डले ४ महिनाअघि ब्रोकर कमिसन सम्बन्धमा अध्ययन गरेको भएपनि हालसम्म नयाँ कमिसन निर्धारण गर्न सकेको छैन । बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना केही समय मुलुक बाहिर रहेकाले ब्रोकर कमिसनका बारेमा निर्णय गर्न ढिलाई भएको स्रोतको भनाई छ । पुस १ गतेबाट बोर्ड अध्यक्ष ढुंगाना कार्यालय आएसँगै दैनिक रुपमा ब्रोकर कमिसनको विषयमा छलफल हुने गरेको उनले बताए । उनले भने, ‘अब छिट्टै ब्रोकर कमिसनको बारेमा टुंगो लाग्छ ।’यसैबीच, अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पनि ब्रोकर कमिसन घटाउन बोर्डलाई निर्देशन दिएका छन् । बोर्डले ब्रोकर कमिसनका बारेमा अध्ययन गर्न गठन गरेको समितिले ब्रोकर कमिसन घटाउन उपयुक्त हुने निष्कर्ष निकालेको थियो । धितोपत्र बोर्डले उपकार्यकारी निर्देशक डा.नवराज अधिकारीको संयोजकत्वमा अध्ययन कमिटी बनाएको थियो ।

 

यता, लगानीकर्ताले पुँजी बजार प्रविधिमैत्री बन्दै गएको तथा कारोबार भोल्यूम समेत निकै बढेको भन्दै तत्काल ब्रोकर कमिसन घटाउन माग गरेका छन् । अहिले धेरै लगानीकर्ताले अनलाइनमार्फत आफैं सेयर किनबेच गर्न थालेका छन् । ब्रोकरहरुले गर्नुपर्ने कागजी प्रक्रिया पनि निकै हटेको छ । यस्तो अवस्थामा ब्रोकरको कामको प्रेसर पनि घटेको लगानीकर्ताको भनाई छ । अहिले कायम न्यूनतम ०.४% देखि अधिकतम ०.६% सम्मको ब्रोकर कमिसनलाई ०.२५% मा झार्न लगानीकर्ताले माग राख्दै आएका छन् । ब्रोकरहरुले भने वैज्ञानिक विधि र पद्धति अवलम्बन गरिनुपर्ने बताएका छन् ।