२०७८ बैशाख ४ , शनिवार

वीरगञ्ज नाकाबाट सवा खर्बको आयात हुँदा निर्यात ७६ अर्ब मात्रै

सुनाखरी न्युज/ काठमाडौ – वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ५ महीनामा भारतबाट १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । यो अवधिमा ७६ अर्ब ३३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। वीरगञ्ज भन्सार कार्यलयको तथ्यांक अनुसार चालू वर्षको पहिलो ५ महीनामा वीरगञ्ज नाकाबाट भएको भारतसितको व्यापारमा मात्रै ४५ अर्ब १५ करोड रुपैयाँ व्यापारघाटा भएको छ । भारतबाट आयात हुनेमा वस्तुमा सवारीसाधन, इन्धन र औद्योगिक कच्चा पदार्थ मुख्य रहेका छन् ।

 

वीरगञ्ज भन्सार अधिकृत रमेश सुकमनीले कोरोना महामरीका कारण पछिल्लो समयमा अधिकांश आयातित वस्तुको परिमाण घटेको बताए । नेपालबाट भारत निकासी हुने मुख्य वस्तुको शीर्ष स्थानमा भटमासको प्रशोधित तेल रहेको छ । अघिल्लो वर्षसम्म पाम आयल भएकोमा भारतले आयात रोकेपछि स्वदेशी तेल उद्योगले भटमासको प्रशोधित तेल निकासी बढाएको हो । वीरगञ्ज नाकाबाट बारा पर्सा औद्योगिक कोरिडोरका १४ ओटा उद्योगले तेल निकासी गर्छन् । चालू आवको पहिलो ५ महीनामा वीरगञ्ज नाकाबाट मात्रै ९ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरको ६ करोड ३१ लाख किलो भटमासको प्रशोधित तेल भारत निकासी भएको छ ।

 

गत आवको पहिलो ५ महिनाको तुलनामा चालू वर्षको सोही अवधिमा निकासी भएको भटमासको तेल मूल्यका आधारमा ३७९ प्रतिशत बढी भएको वीरगञ्ज भन्सारले बताएको छ । नेपालबाट भारततर्फ निकासी हुने वस्तुमा उनी गलैंचा कार्पेट र पिना, आयुर्वेदिक औषधि, स्पोर्टस सुज, स्टीलका भाँडाकुँडा, कागजका बाकस, जुस, कपडा, दन्तमञ्जन, च्यावनप्रास, सेन्थेटिक यार्न,सीआर सीटलगायतका वस्तु मुख्य रहेका छन् ।