२०७७ चैत्र ३० , सोमवार

ओली पक्षद्वारा पार्टीको महाधिवेशन २०७८ को मङ्सिरमा गर्ने निर्णय

सुनाखरी न्युज/ काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको महाधिवेशन २०७८ को मङ्सिरमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।

 

आजैको बैठकले नियुक्त गरेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको निर्णय बारे जानकारी दिएका छन् । यसअघि गत माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले २०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । आजकै बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ । उक्त कमिटीको बैठक पुस ९ गते बस्ने निर्णय गरिएको छ । नेकपाको यस अघि कायम रहेका ४४७ केन्द्रीय सदस्यमा आज ५५६ सदस्य थपिएको छ भने बाँकी रहेका १९६ सदस्य पछि थपिने बताइएको छ ।

 

त्यस्तै आजको ओली पक्षको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता बनाएको छ ।