२०७८ बैशाख ४ , शनिवार

चार महिनामा ३३७ अर्ब रेमिट्यान्स भित्रियो

सुनाखरी न्युज/ काठमाडौ – चालु आर्थिक वर्षको पहिलो ४ महिनाको अवधिमा रेमिट्यान्स ११.२ प्रतिशतले वृद्धि भई रु.३३७ अर्ब ७२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७७/७८ को ४ महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।

 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आई १९२५१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकद्वारा प्रकाशित रिपोर्ट अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई रु.३७३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २.९ प्रतिशतले घटेको थियो ।