२०७८ बैशाख ३ , शुक्रवार

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लगाए खोप

सुनाखरी न्युज/ काठमाडौ – अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ । बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाउनुभएको हो । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनको प्रतिक्रिया छ ।

 

डेलवरको नेवार्कमा खोप लगाएका बाइडेनले खोपलाई लिएर चिन्ता गर्नु नपर्ने बताउनुभयो । बाइडेनकी श्रीमती डा जिल बाइडेनले पनि खोपको लगाउनुभएको छ । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उहाँका श्रीमान डग एमहोफले पनि आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ । अमेरिकामा अहिलेसम्म पाँच लाखभन्दा धेरै अमेरिकीले खोप लगाइसकेका बीबीसीमा उल्लेख छ । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा प्रभावित भएको अमेरिकामा सङ्क्रमितको संख्या एक करोड ८४ लाखभन्दा बढी छ । यस्तै अहिलेसम्म तीन लाख २६ हजारको ज्यान गएको छ ।