२०७७ चैत्र ३० , सोमवार

हरेक काममा अवरोध गरेपछि ताजा जनादेश लिने निर्णय गरेँ : प्रधानमन्त्री

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरु कुनै बिकल्प नभएपछि आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका छन् । विघटित प्रतिनिधिसभाका आफू निकटका सदस्यहरुको सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीका एकथरी नेताले पार्टीलाई जनताले सुम्पेको जनादेश बिर्सेर सधैं सरकारका काममा अवरोध मात्रै गरेको बताए ।

 

उनले विचार, संगठन र गन्तब्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताहरु सरकारका मुलुकको काममा अवरोध गरी बिग्रहतिरको बाटोमा अग्रसर भएको बताएका थिए । “हामी एकता एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ एकताको महाधिवेशन गर्ने, विचार, संगठन र गन्तब्यमा स्पष्ट पार्टी बनाउन सक्रिय थियौं । तर, उहाँहरु एकतामा भावनात्मक सम्मानका लागि गरिएको ब्यवस्थालाई दुरुपयोग गरेर पछाडी फर्कनै नसक्नेगरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बिग्रह, बेमेलको वतावरण निर्माण गर्न अग्रसर हुनु भयो,” प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, “संसद् बिघटन मेरो निजी रोजाई होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु पर्‍यो ।”

 

जनताले दिएको विश्वास पूरा गर्न अवरोध गरेपछि त्यस अवरोधलाई पनि जनतासमक्ष नै प्रस्तुत गर्न ताजा जनादेशको निर्णयमा पुग्नु परेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनताको मतबाट निर्णय लिने कदमलाई निरंकुश भनी कृत्रिम न्यारेटिभ खडा गर्ने प्रयास भएको पनि बताए ।“अप्ठेरोमा जनतासमक्ष जानुलाई निरंकुश कदम भन्ने न्यारेटिभ चलाइएको छ, त्यो गलत छ,” ओलीले भने, “जनताले जुन आदेश दिएर पठाएका थिए, त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम हो ।”उनले सरकार गठन भएको केही समयदेखि नै मुलुकलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने हरेक कदममा ब्यक्तिगत स्वार्थ तेस्र्याएर पाइला छेक्ने प्रयास भएको बताए ।