२०७८ बैशाख ४ , शनिवार

सुरक्षा निकायलाई प्रधानमन्‍त्रीले भने नयाँ परिस्थिति अनुसार काम गर्नु

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायलाई नयाँ राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्‍त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रधानमन्‍त्रीले यस्तो निर्देशन दिनुभएको हो।

 

बालुवाटारको सुरक्षा छलफलमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत उपस्थित हुनुभएको थियो । प्रधानमन्‍त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिएको बताउनुभयो ।

 

उहाँका अुनसार सुरक्षा निकायसँगको बैठकमा नयाँ राजनीतिक कदमविरुद्ध हुनसक्‍ने राजनीतिक आन्दोलन तथा सडक प्रदर्शन र त्यसले सुरक्षामा उत्पन्न गर्नसक्‍ने चुनौतीबारे छलफल भएको हो । बालुवाटारको छलफलमा प्रधानमन्‍त्रीले सबैतिरबाट असहयोग र घेराबन्दी गरेकोले आफूले यस्तो कदम चाल्‍न वाध्य हुनुपरेको बताउँदै जनतामा जाने आफ्नो कदमलाई सघाउन आग्रह समेत गर्नुभएको छ ।