२०७८ बैशाख ८ , बुधवार

नेकपामा भेटघाट र छलफल तिव्र, खुमलटारबाट ओली र गौतम बाहिरिए, नेपाल पुगे, ओली गृहमन्त्री थापालाई भेट्न मन्त्री क्वार्टरमा

सुनाखरी न्युज/ काठमाडौँ —

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर खुमलटारबाट फर्किएका छन् । पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला शनिबार बिहान दाहाल निवास पुगेका प्रधानमन्त्री ओली करिब साढे एक घण्टाको छलफलपछि त्यहाँबाट बाहिरिएका हुन् ।

दाहाल र ओलीबीच छलफल भइरहेकै बेला पार्टी उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए । अहिले ओली र गौतम खुमलटारबाट फर्किइसकेका छन् । यसैबीच पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल खुमलटार पुगेका छन् । अहिले दाहाल र नेपालबीच छलफल भइरहेको दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली खुमलटारबाट बाहिरिएसँगै मन्त्री क्वार्टर पुल्चोकमा गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका छन् । पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला एकपछि अर्को गरी नेताहरु दाहाललाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

शुक्रबार मात्रै दाहाल–नेपाल समूहले पेरिसडाँडामा प्रदेश एकका जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली दाहाललाई भेट्न उनकै निवास गएका हुन् ।