२०७८ बैशाख ४ , शनिवार

त्रिविका आंशिक प्राध्यापक करार नियुक्ति माग्दै धर्नामा, चैत यता शुन्य पारिश्रमिक

सुनाखरी न्युज/ काठमाडौँ —
त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक दुई दिनदेखि उपकुलपति कार्यालयमा धर्ना बसिरहेका छन् । कक्षा र परीक्षा बहिष्कार गर्दै आएका प्राध्यापकहरूले बिहीबारबाट ‘समान कामको समान ज्याला’ माग्दै आन्दोलन चर्काएका हुन् ।

 

 

त्रिविमा कक्षाअनुसार पारिश्रमिक दिने गरी राखिएका १४ वर्षदेखिका आंशिक प्राध्यापक छन् । प्रतिपिरियड ३ सयका दरले अध्यापन गराउने उनीहरूले मासिक पारिश्रमिक दिने गरी करारमा नियुक्तिको माग अघि सारेका हुन् । त्रिविले प्राध्यापकहरूबीच नै विभेद र आंशिक प्राध्यापकलाई शोषण गर्दै आएको उनीहरूको गुनासो छ ।

 

अनलाइन कक्षाको पारिश्रमिक नपाएका प्राध्यापकहरुको धर्नामा देशभरका आंगिक क्याम्पसका अध्यापक सहभागी छन् । त्रिविमा करिब दुई हजार आंशिक प्राध्यापक छन् । उनीहरूले चैतयता पारिश्रमिक पाएका छैनन् । ‘अधिकांश क्याम्पसमा पठनपाठन छैन,’ त्रिचन्द्र क्याम्पसका आंशिक प्राध्यापक शशिकुमार शर्माले भने, ‘अनलाइन कक्षामा सहभागीलाई पनि पारिश्रमिक दिइएको छैन ।’

 

कक्षाअनुसार ज्यालादारीमा कार्यरत प्राध्यापकलाई करार नियुक्ति दिनुपर्ने र त्रिवि सेवा आयोगको विज्ञापन समयमै खुलाउनुपर्ने आंशिक प्राध्यापक संघको माग छ । उमेर हदका कारण निवृत्त, लामो समय अध्ययन बिदामा बसेका र विभिन्न स्थानमा नियुक्तिमा रहेका स्थायी प्राध्यापकको सट्टामा अध्यापन गराउन आंशिक प्राध्यापक राख्ने व्यवस्था गरिएको छ । यिनै अध्यापकले त्रिविको ७० प्रतिशत कार्यभार सम्हालेको संघकी अध्यक्ष चन्द्रवदन राईले बताइन् ।

संघले २०६५ यता सरकार र विश्वविद्यालयसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने माग दोहोर्‍याएको छ । विभिन्न समयमा गरिएका सहमतिमा आंशिक प्राध्यापकलाई करार नियुक्ति दिने उल्लेख छ । सहमतिअनुसार आंशिक प्राध्यापकलाई करारमा नियुक्ति गर्न १ हजार ४ सय २० दरबन्दी थप गर्ने निर्णय भइसकेको छ ।

त्रिवि कार्यकारी परिषद्ले २०७४ वैशाखमै दरबन्दी थप्ने निर्णय गरेकोमा स्वीकृतिका लागि शिक्षा मन्त्रालयमार्फत अर्थ मन्त्रालय पठाइएको छ । अर्थले स्वीकृति नदिँदा दरबन्दी थप हुन नसकेको विश्वविद्यालयका पदाधिकारी बताउँछन् ।

९ महिनादेखि पारिश्रमिक नपाएका आंशिक प्राध्यापक विश्वविद्यालयको पछिल्लो निर्णयले झन् आक्रोशित छन् । त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाले आंशिक प्राध्यापकबारे अध्ययन र समस्या समाधान गर्न कार्यदल गठन गरिसकिएको बताए ।