२०७७ चैत्र ३१ , मंगलबार

पुस्तकको तिरोधान (अंक-६)

Dinesh Pandey

दिनेश पाण्डेय-

नचिनेका सबै चोर मितैसरि हुने अरे ।

ठुलै मान्छे परे फेरि होला वा अपमान रे ।।६५।।
महासाधकको संज्ञा त्यसैले दिन्छु तैपनि ।
मन चित्त पलाएमा फिर्ता गर्ला कि वा भनी।।६६।।
जय होस् चोर साथीको रहेछौ चोर्नमा छुरा ।
भयो के देश यो मेरो जो लुट्तछन् उनै सुरा ।।६७।।
ओखती हुन्न रे केको जो आफै शास्त्र हर्दछन् ।
उखान यो सुनेकै हो उनैका स्वर चढ्दछन् ।।६८।।
कुरा काट्नेहरू काटून् ढुक्कले बस्छ सज्जन ।
नचिन्दा व्यक्ति कुत्ताले भुक्तछन् कसरी भन ।।६९।।
भलै नोक्सान जे पर्ला बुद्धिमान् धैर्य राख्तछ
विनाकारणमा दर्द दिई दुर्जन हाँस्तछ ।।७०।।
सचिन्न कहिल्यै हाम्रो स्वभाव प्रकृतिप्रद
राजगद्दी बसी श्वान जुत्ता के चाट्न छोड्दछ ।।७१।।
छुँदै बिताउँछन् हात्ती सुँघी सक्छ भुजङ्गम
रक्षा गरिगरी राजा हाँसी मुसुक्क दुर्जन ।।७२।।
बोली बन्दछ मान्छेको वेलामा परिचायक ।
वसन्तमा स्वयं खुल्छ को काक अनि को पिक ।।७३।।
भ्रष्टका सामुमा पर्दा राखेर बच्नुपर्दछ ।
स्वाँठाका सामुमा पर्दा वज्रझैँ बन्नुपर्दछ ।।७४।।
साधुका सामुमा संवेद्य बनी पग्लनुपर्दछ ।
मिले कोही दुराचारी दुर्वासा बन्नुपर्दछ ।।७५।।
फलवान् तरुझैँ नम्र हुने गर्छन् सधैँ गुणी ।
सुकेका वृक्षझैँ मूर्ख निहुरिन्नन् कसै पनि ।।७६।।
पुष्पमा भँवरा भुल्छन् उड्छन् रस सुकेपछि ।
आफ्ना नै बुर्कुसी मार्छन् स्वार्थ सारा लुटेपछि ।।७७।।
स्वार्थको दुनियाँभित्र स्वार्थी मात्र अटाउँछ ।
बजे बेमौसमी बाजा फुर्ती बेकार लाउँछ ।।७८।।
दुध हो मित्र पानीको पानीमा प्रीत लाउँछ ।
पानीलाई ज्वरो बढ्दा ओर्ली आगो निभाउँछ ।।७९
भगवान्मय यो सृष्टि उनैमा मिल्दछन् सब ।
पानीमा उठ्तछन् फोका पानीमै फुट्तछन् सब।।८०।।
माटो हो सबको बीज माटो नै सबको भर ।
माटामै मिल्दछन् सारा जगत् यो क्षणभङ्गुर ।।८१।।
दिनानुदिन जाँदैछन् प्राणी यी यमको घर ।
बचेका बाँच्न चाहन्छन् यस्तो आश्चर्य के छ र ।।९२।।
चल्दैन मबिना सृष्टि भन्ने गर्छन् यहाँ कति
भन्छन् आकाश थाम्दैछु हुटिट्याउँहरू सुती ।।८३
स्रष्टाका सिर्जना शक्ति गर्छन् यात्रा कता कता ।
चम्किन्छन् सूर्य सीमामा स्रष्टा पुग्छन् जतातता ।८४।।
चुलेसी ननिले नानी विचार नगरीकन ।
होला बिहान के चाला गाह्रो पर्छ पचाउन ।।८५।।
चोरीका पनि धर्म वा नियम क्यै खोजे कतै शास्त्रमा
मिल्ला हेर अझै मिची नियम ती चाबी छँदै हातमा ।
के बोलौँ अनुमान गर्छ सहजै यो सानु बच्चातक
तालाबन्द छ मित्र लौ न कसरी डेरा सरे पुस्तक ।।८६।।
बच्चामा पनि हुन्छ भान यतिको टाठा र बाठा भए
जो छन् प्रौढ समाजमा मुख थुने झैँ आज लाटा भए ।
अर्काका सब शास्त्र चोर्न कसरी सक्ला कुनै शिक्षक
तालाबन्द छ कक्ष लौ न कसरी डेरा सरे पुस्तक ।।८७।।
कला चोरले के गरी पो पढ्यो यो
गडी चित्तमा बेसरी झन् सड्यो यो ।
यही बुद्धिले बालुवाटार जाऊ
ठुलो ठाउँमा वा ठुलै पर्छ दाउ ।।८८
नचिन्दा त के भो चिनेझैँ छ चोर
र चिन्दा त के भो न लाग्दो छ जोर ।
त्यसैले त माग्दैछु साथी निसाफ
लु अन्दाज जाओस् कहाँ छन् किताप ।।८९।
नचिन्दो हुँदा चोर चम्केर बस्छ
उही आडमा काव्य लम्केर बस्छ ।
परी मक्ख ऊ चाहिँ छाती फुलाई
लुकी यत्र वा कुत्र गम्केर बस्छ ।।९०।।
कुनै चोर हुन्छन् निकै भाग्यमानी
कपिन्छन् उनैका सुनौला कहानी ।
अझै चिन्न पाए अझै कप्न हुन्थ्यो
महामित्रको जिन्दगानी बखानी ।।९१।।
कि वा चोर हिँड्दैछ आँखा अगाडि
धरी भेष उल्टै सदाचारधारी ।
अवस्था छ यो आज यस्तै परेको
कहाँ मिल्छ रे ओखती कुन्नि केको ।।९२।।
यहाँ चोर नै चोरको धृष्टता छ
अझै चोरकै सोरमा शिष्टता छ ।
परे जे जसो हुन्छ सारा ब्यहोर्छु
जतै चोरको नै त बाहुल्यता छ ।।९३।।
चोर्ने गर्दछ पाप एक र सयौँ गर्छन् अरे चोरिने
भन्छन् चोर जुनै भए पनि सखे सन्मित्र जस्तो हुने ।
कोही मित्र बनी पसेर दिउँसो चोर्छन् अँध्यारोपख
होऊ सज्जन साँच्चिकै त भनिद्यौ राख्यौ कहाँ पुस्तक ।।९४।।
औँलाका गिँडमा गमी गनिगनी गन्ती गरेँ चोरको
एकै उत्तर आउने मगजमा खन्ती अरे चोरको ।
कोही रात मिल्यो अचम्म सपना जल्दै थिए पुस्तक
होऊ मानव साँच्चिकै त अति भो देऊ सखे पुस्तक ।।९५।।
सक्छौ ज्ञान लुटी धुती मगज यो रित्तै बनाई लिनू
कच्चा कागज चोर्दछौ मनुज छी: धिक्कार हो के भनूँ ।
तिम्रो बुद्धि विनाशको पथ गयो फिर्दैन मर्दातक
साँच्चै सज्जन हौ त लौ त भनिद्यौ राख्यौ कहाँ पुस्तक ।।९६।।
म आफ्नै सखाका कुरा के बताऊँ
र आफ्नै धुराका म के गीत गाऊँ ।
बिताएँ जहाँ लोभलाग्दो उमेर
उही बासमा के म आगो लगाऊँ ।।९७।।
भयौ धन्य आभार टक्र्याउँदैछु
रची कीर्ति तिम्रो कथा गाउँदैछु ।
महामित्रजीको यहीँ नाम घोटी
दुखेको हिया ओखती लाउँदैछु ।।९८।।
कुनै चोरले थुत्तछन् थुत्त पाउ
थुतेनन् कसैले म के नाम गाऊँ ।
कतै थुत्छ कोही कि वा पाउ भन्दै
बिचारेर हेर्दैछु पर्ला कि दाउ ।।९९।।
लुटेरा चोर वा डाँका भातमारा जतातता ।
झुटा मुद्दा लगाएर लखेट्लान् कि कता कता ।।१००।।
भनेर पिर गर्दैछन् कसैले बाबुले सरि ।
मित्र हो नलिनू चिन्ता पर्ला जे भोग्छु सो घडी ।।१०१।।
साँचोको धर्म के होला भन पाठकले अब ।
साँचोले झूटका साथ प्रीति गाँस्तो छ रे जब ।।१०२।।
यही चोर भनी मैले तोकेको नै कहाँ छ र
काट्छु खुट्टो भनेको हुँ थुतेमा के लछार्छ र ।।१०३।।
रिसाए रिसाऊ खुसाए खुसाऊ
कि वा चोरकै जिन्दगानी बिताऊ ।
तिमी मित्र मेरो अझै मित्र नै छौ
छ जे जे नपुग्दो अझै चोर आऊ ।।१०४।।
साथी हौ जति छौ कुनैकन यहाँ लाउन्नँ रे दोष म
आफ्नै बुद्धि पुगेन पो र अहिले बन्दैछु बेहोस म ।
ताला बन्द भनेर ढुक्क घरमा बस्दा भयो घातक
भन्द्यौ बन्द दराजबाट कसरी डेरा सरे पुस्तक ।।१०५।।
न भाषा कसै बुझ्न सक्थ्यौ तिमीले
न ता अक्षरै फोर्न सक्थ्यौ तिमीले ।
बिँडै झैँ भयो चन्दनी काठ आज
बिनाअर्थ के काम चोर्‍यौ किताब ।।१०६।।
कसैले करोडौँ र अर्बौँ कमाए
चकारी गरी शक्ति आफ्नो जमाए ।
यसो हुन्छ भन्थे उसो हुन्छ भन्थे
गए ती कहाँ जात मात्रै जनाए ।।१०७।।
कसैको कसी राज्यको भूमिसीमा
कसैको कसी बालुवाटारजीमा ।
यहाँ चोर घोटिन्छ के के कसीमा
तिमी घोटियौ चारपैसे मसीमा ।।१०८।।
सखे चोर्नुको मात्र सीमा रहेन
र चोरी कसोरी भयो यो रहेन ।
भयो जो बलात्कार शास्त्रादिमाथि
उही हो अरू बात केही रहेन ।।१०९।।
चोरी भए पुस्तक छैन चिन्ता
मरिन् बुढी के छ र मित्र चिन्ता ।
जाऔँ न हेर्दै अझ हुन्छ के के
जो काल पल्क्यो उसमा छ चिन्ता ।।११०।।
जहाँ जिन्दगी कालको पास हुन्छ
जहाँ बाँच्नकै नित्य सन्त्रास हुन्छ ।
कहाँ ज्ञान विज्ञानका पाठ मित्र !
जहाँ चोरको सर्वदा बास हुन्छ ।।१११।।
नसम्झूँ कि भन्दा छचल्की छचल्की
र बिर्सूँ कि भन्दा छचल्की छचल्की ।
उही चोर पौडिन्छ हृत्पोखरीमा
उछालिन्छ यो भावधारा छचल्की ।।११२।।
जम्मै पुस्तक किन्दछौ यदि तिमी हात्ती बिसै पर्छ कि
कोच्यौ पुस्तक ती लिएर घरमा वा मेख मर्दो छ कि‌ ।
दिन्छौ वापस ती थपेर उसमा हज्जार पाँचै भयो
खाऊ नत्र पछ्याउँदै अब उतै भेट्नेछु जे भो भयो ।।११३।।
कोही रात बन्यो अचम्म म जहाँ सुत्तै थिएँ होसमा
आई धम्मरधुर्मुसे जन कुनै बोल्दै थियो जोसमा ।
तेरा पुस्तक जो थिए अमुकले कोचेर धोक्राभरि
जप्तै बस्छ अगाडि ऊ दिनदिनै सोचेर नानाथरि ।।११४।।
कोही मर्दछ डाहले भतभती देखेर ती पुस्तक
कोही मर्द छ दिन्छ भेउ जसले भेटेर ती पुस्तक ?
राखी गुप्त छ काम के र तिनको संसार हाँस्तातक
खायौ खाक बनाउँदै कि त सखे पोलेर ती पुस्तक ।।११५।।
यौटा बात म भन्छु गोप्य सबमा यी नामका पुस्तक
भेट्ता खोलिवरी अगाडि बिचमा मेरो कतै दस्खत ।
पाए मित्र तुरुन्त फोन अथवा खिच्नू कि फोटो अरे
गर्ला सूचन जो महापुरुषले मिल्ला पुरस्कार रे ।।११६।।
चोरे ग्रन्थ त मित्रले जति थिए खोजे सिलो झैँ गरी
राख्छन् पुस्तक ती कहाँ र तिनले कोचेर धोक्राभरि ।
तिम्रो नाम सधैँ सधैँ अमर होस् हे ग्रन्थसंहारक
धन्नै हो अति धन्य छौ बनिदियौ यो काव्यको प्रेरक
।।११७।।
क्रमशः अर्को शनिवार