२०७८ बैशाख ४ , शनिवार

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखाको ठहर, छानबिनकालागि अख्तियार पठाइने

सुनाखरी न्युज/ काठमाडौं ।

संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको छ । समितिले थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ ।

स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न १२ चैत २०७६ मा ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल (ओम्नी समूह) सँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार ओम्नी समूहले १६ गते पहिलो लटमा सामान पनि ल्याएको थियो, तर महँगोमा सामान खरिद भएको भनेर विरोध हुनुका साथै थप सामग्री ल्याउन नसकेपछि १९ चैतमा सम्झौता रद्द भयो ।

लेखा समितिले गरेको अध्ययनमा भने खरिद प्रक्रिया नियमसंगत नभएको पाइएको छ ।