२०७८ बैशाख ३ , शुक्रवार

सवारी दुर्घटना न्यूनिकरण बिशेष अभियान संचालन

सुनाखरी न्युज/ दाङ – पछिल्लो समयमा बिद्यालय तथा कलेजमा अध्यनरत बिद्यार्थीहरुले Over speed, लापरवाही तथा सवारी नियमको पालना नगरी सवारी चलाउदा सवारी साधनहरु दुर्घटना हुने क्रम बढेको र गत हप्ता मात्र सवारी चालक ३ जना बिद्यार्थीहरुको मृत्यु समेत भएको हुदा यस्ता प्रकारका सवारी दुर्घटनाहरु न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालय दाङले बिद्यालय तथा क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गरी सवारी दुर्घटना न्यूनिकरण बिशेष अभियान संचालन गरेको छ ।

 

प्रहरीले पहिलो चरणमा अभियान सम्बन्धी संचार माध्यमबाट जानकारी दिनुका साथै बिद्यालय तथा कलेजहरुमा पुगी सवारी चालक अनुमती पत्र नलिई सवारी साधन नचलाउन बिद्यार्थीहरुलाई अनुरोध गर्नुका साथै सचेतनामूलक कार्यक्रम संचालन गरिरहेको र दोस्रो चरणमा सवारी चालक अनुमति नलिई चलाउने बिद्यार्थीहरुको सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारबाही गरी अभिभावक जिम्मा लगाईने छ । पहिलो चरणमा तुलसीपुर, घोराही, लमही,भालुबाङ, गढवा, अमिलिया, खिलतपुर लगाएत स्थानका बिभिन्न बिद्यालय तथा कलेजहरुमा गई सवारी चालक अनुमती पत्र नलिई सवारी साधन नचलाउन अनुरोध गरिएको छ । हाल सम्म यस अभियान अन्तरगत सवारी चालक अनुमती नलिई सवारी साधन चलाउने घोराही र तुलसीपुरमा गरी जम्मा २७ वटा मोटर साईकल र ७ वटा स्कुटी गरी जम्मा ३४ वटा सवारी साधन नियन्त्रणमा लिईएको छ ।

 

अभियानकै क्रममा दाङ जिल्लाभर रहेका +2 तथा क्याम्पसका अधिकांश शिक्षण संस्थाहरुमा अभियानको बारेमा जानकारी गराईएको र १९ वटा शिक्षण संस्थाहरुमा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धमा सचेतना मुलक कार्यक्रम संचालन गरिएको छ । यस अभियान दाङ जिल्लाभर नै लागु भईरहेको र जिल्लाभर रहेका सम्पुर्ण प्रहरी युनिटहरुले यस अभियान संचालन गरिरहेका छन् । साथै मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा अन्य ट्राफिक नियमहरु पालना नगर्ने सम्पुर्ण चालकहरुलाई कारबाहीको दायरामा ल्याउन दाङ प्रहरी शसक्त रुपमा लागी परेको हुदा सम्बन्धित सबै जनालाई आवश्यक सहयोग गर्न हुन अनुरोध गरेको छ ।