२०७७ चैत्र ३० , सोमवार

प्रभु लाइफको आईपीओमा साढे १० लाखको आबेदन

सुनाखरी न्युज/ काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आवेदन गर्नेको संख्या ह्वात्तै बढेको छ । यसअघि करिब ८ लाखको हाराहारीमा आबेदन पर्ने गरेकोमा प्रभु इन्स्योरेन्सको आईपीओमा करिब साढे १० लाख आबेदन परेको छ ।

 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहिबार ४ः३० बजेसम्ममा १० लाख ४४ हजार आवेदनबाट २ करोड ७७ लाख शेयरको लागि आवेदन परेको छ । यो कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको ५.१२ गुणा बढी हो । यो प्राम्भिक तथ्यांक भएकोले अझै आबेदन गर्नेको संख्या बढ्न सक्ने सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीले सोमबारदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको हो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।

 

माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ । त्यस अनुसार ५ लाख ४० हजार आबेदकले मात्रै न्युनतम १० कित्ता पाउनेछन् । त्यस अनुसार करिब ५० प्रतिशतले शेयर नपाउने देखिन्छ । कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले केयरएनपी–आइआर बीबी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउछ। हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।