२०७८ बैशाख ३ , शुक्रवार

नेपाली सेफ सन्तोष साह बीबीसी मास्टरसेफको उपविजेता

सुनाखरी न्युज/ काठमाडौं – मास्टर सेफ यूकेमा नेपाली सेफ सन्तोष साहले ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२०’को उत्कृष्ट तीनमै चित्त बुझाउन बाध्य भएका छन् । बिहीबार बेलुका सम्पन्न फाइनलमा बेलायतकै २५ वर्षीय एलेक्स वेबले उपाधि जितेका हुन् । उपाधि नजितेपनि सन्तोषले नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गर्न सकेकोमा खुशी व्यक्त गरेका छन् । साहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसकेको बताए ।

 

अन्तिम प्रतिस्पर्धामा सन्तोषले हड्डीवाला भैंसीको मासु, खोले साग, भेंडाको गिदी लगायतका परिकार पकाएर चरेशको थालमा पस्किएका थिए । खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित रक्सी पनि ’सर्भ’ गरेका थिए । उनले यसअघि सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचार लगायतका दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएर लाखौं नेपालीको मन जितेका थिए । ३५ वर्षीय साह सिराहा कर्जन्हाका स्थायी बासिन्दा हुन् ।