२०७७ चैत्र ३१ , मंगलबार

बारपाक सुलिकोटको बहुउद्देश्यीय सभाहलको मन्त्री बस्नेतद्वारा शिलान्यास

मिलन ढकाल/ गोरखा – बारपाक सुलिकोट गाउँपालिकाको बहुउद्देश्यीय सभाहलको शिलान्यास सम्पन्न भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री मा. रामशरण बस्नेतले आज एक कार्यक्रमको बीच उक्त सभाहलको शिलान्यास गर्नुभएको हो ।

 

गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाले शुरु गरेको उक्त भवनको लागत १,२२,२६०३४ रहेको छ । सिराईचुली निर्माण प्रालिले शुरु गरेको उक्त भवन २०७८ जेठ १५ गते भित्र निर्माण सम्पन गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले बारपाक सुलिकोटबासी समृद्धिको लागि सक्रिय रहेकोमा प्रशंसा गर्नुभयो । एक निर्वाचन क्षेत्र एक पक्की सडक र गाउँपालिका केन्द्र जोड्ने पक्कि सडक निर्माण गर्ने नीति प्रदेश सरकारको रहेकोले सोही अनुसार घ्याम्पेसालदेखि गाउँपालिकासम्मको सडक कालोपत्रेको कार्य शुरुवात गरेको जानाकारी दिनुभयो । सडक बिस्तारको क्रममा जनताको निजि घरजग्गाको मुअब्जा दिने नीति प्रदेश सरकारको नभएकोले मुअब्जाबारे स्थानीय सरकारले जनतासँग समन्वय गर्नुपर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका मन्त्री बस्नेतले संघ, प्रदेश र स्थानीय सरकारले योजनाबद्ध रुपमा बजेट बिनियोजन गरेर बारपाक सुलिकोटको समृद्धि र बिकासको लागि क्रियाशिल रहेकोले कुनै ब्यक्ति विशेषले मैले बजेट हालेको भन्दै गाउँघर डुल्नु गलत भएको बताउनुभयो ।

 

सडक, सिंचाई, खानेपानी लगायत भौतिक पूर्वाधारको क्षेत्रमा बारपाक सुलिकोटमा आफ्नो मन्त्रालयबाट बजेटिङ गरिने कार्य गाउँपालिका सरकारको समन्वय र सहकार्यमा भएकोले जनप्रतिनिधिको नाममा कुनै ब्यक्तिले जस लिने दाउ गरि जनतालाई भ्रममा नपार्न समेत आग्रह गर्नुभयो । नम्वरी सुनलाई कसी लगाउन नपर्ने भन्दै गाउँघरका सिधा-साधा २, ४ जना मान्छेहरुलाई २, ४ पैसा बाढेर ब्यक्तिको प्रचार गरेर समाजको समृद्धि नहुने ठोकुवा गर्नुभयो । ग्याजी-रातमाते खार्चोक सडकलगायत खानेपानी र सिंचाईमा बिनियोजित प्रदेशको बजेट गाउँपालिकाको आधिकारिक अनुरोधमा आफ्नो मन्त्रालयले बजेटिङ गरेको दाबि मन्त्री बस्नेतको थियो । त्यस्तैगरी वाहुन वेशीको मोटरेवल पुलको डिपिआर रिपोटको आधारमा पुल निर्माणको प्रक्रिया अघि बढाउने, नारेश्वर-उल्टे-पाल्खु पक्कि सडक निर्माणको लागि वहुबर्षिय टेण्डरको प्रक्रिया अघि बढेको, स्तुलखोला हुँदै खार्चोक सडक निर्माणमा बजेटिङ गर्ने, स्वारा, सौरपानी क्षेत्रको सडक निर्माणको लागि प्रदेश सरकार क्रियाशिल रहेको मन्त्री बस्नेतले कार्यक्रममा जानकारी दिनुभयो ।

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष बिष्णु भट्टले प्रदेश सरकारको साझेदारीमा निर्माणधिन गाउँपालिकाको प्रशासनिक भवन, चनौटे-पाल्खु सडक लगायत गाउँपालिका भित्रको विभिन्न योजनाहरुको प्रगति विवरण मन्त्री बस्नेतलाई जानकारी गराउनुभएको थियो । त्यसअघि मन्त्री बस्नेतले प्रदेश सरकारको साझेदारीमा निर्माणधिन गाउँपालिकाको प्रशासनिक भवन, घ्याम्पेसाल-ताकु सडक लगायतको अनुगमन समेत गर्नुभएको थियो भने सडक बिस्तारको क्रममा निजि घरजग्गाको मुअब्जाबारे देउरालीबासीसँग समेत छलफल गर्नुभएको थियो ।