२०७७ चैत्र ३० , सोमवार

आजदेखि सवारी साधनमा जोर–बिजोरको नियम नलाग्ने,  के छ नयाँ ब्यवस्थामा

सुनाखरी न्युज/ काठमाडौं ।

आज शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हट्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमाबिहीबार बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।

जोरबिजोर हटाउने सहमतिसँगै आजबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ । ‘शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारदेखि लागू हुनेगरी जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको छ’, उनले भने ।

कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजोर प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।

महासंघका महासचिव सरोज सिटौला लकडाउनपछि यात्रु पाउनै मुश्किल पर्ने सार्वजनिक सवारीमा अहिले कार्यालय समयमा ठूलो भीडभाड हुन थालेकोले जोर बिजोर हट्नु सकारात्मक भएको बताउँछन् ।

विगतमा भीडभाड कम गर्न जोर-बिजोर प्रणाली लगाए पनि अहिले अरु कुनै खालका प्रतिबन्धहरु नभएकाले अब जोर-बिजोर मात्रै लगाएर राख्दा सार्वजनिक सवारीमा जोखिम बढ्ने महासंघको भनाइ थियो ।