२०७७ चैत्र ३० , सोमवार

भोलिदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने

सुनाखरी न्युज/काठमाडौं – काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ। बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार बैठकले जोर-बिजोर हटाउने निर्णय गरेसँगै शुक्रबारदेखि सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन्। तर, त्यसका लागि सबै सार्वजनिक र निजी सवारी स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य रुपमा गर्नुपर्नेछ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले यातायात व्यवसायीले स्वास्थ्य प्रोटोकल पूर्ण रुपमा पालना गरेर यातायात चलाउने बताए।

 

‘लकडाउनपछि यात्रु पाउनै मुस्किल पर्ने सार्वजनिक सवारीमा अहिले कार्यालय समयमा ठूलो भीडभाड हुन थालेकोले जोर बिजार हट्नु सकारात्मक भएको कुरा हो,’ उनले भने,‘स्वास्थ्य मापदण्ड अपनाएर अब सवारी चलाउँछौं।’

 

यातायात व्यवसायीले शुक्रबारबाट जोरबिजोर नमान्ने

यसका साथै यातायात व्यवसायीले पनि शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका थिए । उपत्यकामा मात्र असोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार संयुक्त रूपमा अपिल जारी गर्दै जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेकाे थियाे।