२०७७ चैत्र ३१ , मंगलबार

डब्लुएचओले चीनको वुहानमा कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्ने

सुनाखरी न्युज/ काठमाडौं।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनको वुहानमा कोरोनाभाइरसको उत्पत्तिबारे अनुसन्धान गर्ने भएको छ । अर्को महिना १० जना अन्तर्राष्ट्रिय वैज्ञानिकको टिम वुहान जान लागेको डब्लुएचओलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बेइजिङ जान लागेको टोलीका सदस्य एक बायोलोजिस्टले एसोसिएट प्रेससँग कुरा गर्दै विश्व स्वास्थ्य संगठनले कसैलाई दोष लगाउने भन्दा पनि भविष्यमा हुन सक्ने अर्को लहरलाई रोक्न चाहेको बताए । ‘यो कुनै दोषी देश पत्ता लगाउने कुरा होइन’ जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटका बायोलोजिस्ट फाबिएन लिन्डर्जले भने ‘यो भनेको महामारी कसरी फैलियो भन्नेबारे बुझ्ने र त्यो डाटाबाट हामीले भविष्यमा आउन सक्ने जोखिम कसरी रोक्न सक्छौं भन्ने खोजी गर्ने विषय हो ।’

यसअघि चीन स्वतन्त्र अनुसन्धानको लागि सहमत हुन अनिच्छुक थियो र उसले विश्व स्वास्थ्य संगठनलाई शहरसम्म पहुँच दिन महिनौंको समय लगायो । कोरोनाभाइरस वुहान शहरको जनावर बजारबाट आएको आशंका गरिएको छ । तर यसको स्रोतको खोजीले खासगरी अमेरिकासँग तनाव बढाएको थियो । डोनाल्ड ट्रम्प सरकारले चीनमाथि भाइरसको प्रारम्भिक संक्रमणबारे जानकारी लुकाएको आरोप लगाउँदै आएको छ ।

 

डा. लिन्डर्जका अनुसार टिमले भाइरस कहिले प्रसार हुन सुरु भयो र खासमा यो वुहानबाटै सुरुरु भएको थियो वा थिएन भन्ने पत्ता लगाउनेछ । उनका अनुसार यो मिशन करिब ४ देखि ५ हप्तामा सकिने अपेक्षा गरिएको छ । भाइरस संक्रमणको सुरुवातमा यो भाइरस वुहानको कथित वेट मार्केटबाट फैलिन सुरु भएको र यो भाइरस जनावरबाट मानिसमा आएको हुन सक्ने मानिएको छ । तर, अहिले भने अनुसन्धानकर्ताहरुले यो भाइरस त्यहाँ रुप परिवर्तन गरेको हुन सक्ने बताएका छन् ।