२०७७ चैत्र ३१ , मंगलबार

देउवालाई गगन थापाको आग्रह संसद अधिवेशनका लागि आजै निवेदन दिऔं

सुनाखरी न्युज/ काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद बैठक बोलाउन आजै निवेदन दिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। देउवा निवासमा आज दिउँसो कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दैछ। पार्टी बैठकअघि ट्वीट गर्दै थापाले बरालिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्हाल्न संसद अधिवेशन बोलाउन बाध्य पार्नुपर्ने उल्लेख गरेका हुन्।

 

‘बरालिएका प्रधानमन्त्रीलाई बाँध्न संसद बोलाउन बाध्य पारौं। उपसभामुख नभएसम्म संवैधानिक परिषद बैठकमा नजाऔं,’ सांसदसमेत रहेका थापाले भनेका छन्, ‘यी विषयमा पहिले मनन नगर्दा आजको परिस्थिति आएको छ।’छ सदस्यीय संवैधानिक परिषदमा तीन जना मात्रै भए निर्णय गर्न सक्ने गरी सरकारको सिफारिसमा राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेकी थिइन्।

 

थापाले संसद अधिवेशनका लागि आजै निवेदन दिनु पर्ने पनि उल्लेख गरेका छन्।‘संविधानको धारा ९३ (३)  अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔं, उपसभामुख निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौं,’ उनले भनेका छन्, ‘उपसभामुख विनाको संवैधानिक परिषद बैठक अस्वीकार गरौं। संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौं।’