२०७७ चैत्र ३० , सोमवार

कोरोना अनुभव

मदन प्रसाद अधिकारी – विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रकोप नेपालमा पनि फैलिंदै गईरहेको थियो । यो महामारीले हाम्रो परिवारलाई पनि छोडेन । २०७७ सालको बडा दशै सवै परिवार संगै बसेर मनाउने अवस्था त थिएन तर पनि जो जहाँ छन त्यहिं मनाउने निर्णय गरियो । बुवा , आमा तथा दुवै भाईहरुका पविारको बसोबास काठमाण्डौ भएको र मुटुको टुक्रा एक मात्र छोरी अमेरिका भएको हुंदा बुबा आमा र छोरी बिनाको दशै केहि नरमाईलो हुने महसुश गरेतापनि यस बर्ष यस्तै हुने भयो अर्को बर्ष सपरिवार संगै बस्ने मिठो मसिनो खाने ,बर्षभरिका रमाईला कुराकानी गर्ने ,सबै केटाकेटीहरु जम्मा भएपछि एक आपसमा हुने रमाईलोपनको कल्पना गरेर बसियो ।

 

तर अफसोच दशैको अष्टमीको दिन बिहान कान्छो भाईलाई कोभिड १९ को पोजेटिभ रिजल्ट आयो भन्ने खवर आयो । यो खवर सुनेपछि त ज्यादै नरमाईलो अनुभुति भयो । बुबा ,आमा भाई र छोरा संगै बस्ने (बुहारी भने गोरखामा शिक्षिका भएको हुंदा आमा छोरी दुवैजना गोरखामा थिए) भएकाले भाई तुरुन्तै होम आइसोलेसनमा बसिहाले । बुवा दिर्घरोगी हुनुहुन्छ , विगत ३२ बर्ष देखि मधुमेह र उच्च रक्तचाप बाट पिडित हुनुहुन्छ । अव बुवालाई कसरी जोगाउने भन्ने चिन्ता हुन थाल्यो । आमा पनि खासै निरोगी हुनुहुन्न बुढो भईसक्नु भएको छ कहिले पेट दुख्ने कहिले हात दुख्ने भईरहन्छ । त्यहि अष्टमीको दिन बेलुका देखि बुबालाई पनि ज्वरो आउन शुरु भएछ , भोलिपल्ट बिहानै पि.सी.आर चेक गर्न जानुभयो , दशमीको दिन बिहान रिपोट पोजेटिभ आयो । अब झन पिडा हुन थाल्यो के गर्ने ,कसो गर्ने ,कहाँ जाने हुन थाल्यो ।

 

 

तैपनि मन दरो बनाएर बसियो । प्रत्येक घण्टा घण्टामा फोन सम्पर्क भईरहन्थ्यो खास लक्षण त्यस्तो केहि छैन ठिकै छ भन्नु हुन्थ्यो । चितवन मेडिकल कलेज भरतपुरका प्रबन्ध निर्देशक डा.हरिश्चन्द्र न्यौपाने र गोरखा अस्पतालमा कार्यरत डा.विनोद दुवाडीको सर सल्लाह बमोजिमको प्रक्रिया गरेर होम आइसोलेसनमा बस्नु भयो । दिनहरु वित्दै गए , दुबै बाबु छोरा आइसोलेसनमा बस्नुपरेको हुँदा बृद्ध आमालाई दुबै जनालाई समय समयमा तातो पानी दिनुपर्ने, झोलिलो खानेकुरा दिनुपर्ने , खाजा खाना दिइरहनु पर्ने हुंदा कार्यबोझ धेरै भएको थियो । यति हुंदा हुँदै २।३ दिन पछि आमालाई पनि ज्वरो आउन थाल्यो , आमाको पनि पि.सि.आर.रिपोट पोजेटिभ नै आयो । अव झन कति गारो , घरमा भएका तिनैजना कोरोना संक्रमित हुनुभयो । यस्तो पिडादायी भएर यो बर्षको दशै बिदा भएर गयो । दशै यस्तै भएपनि तिहार रमाईलो गर्ने भन्ने सोचेर बसियो ।

 

सदा झै २०७७ सालको कात्र्तिक २३ गते आईतबारका दिन कार्यालय गएं । दिनभरि काम गरियो । कार्यालयमा कार्यरत एक जना कर्मचारी कोभिड १९ बाट संक्रमित भई होम आइसोलेसनमा बसेको अबस्था थियो । आईतबारको साँझबाट केहि मात्रामा ज्वरो आउन शुरु भयो । बाफ लिएर सुतें तर रातभरी कताकता असजिलो महशुस भयो । भोलिपल्ट बिहान पनि हल्का ज्वरो आउन थाल्यो सिटामोल खाएं केहि कम भयो । कार्यालयमा पनि त्यस्तै समस्या छ , एकजना होम आइसोलेसनमा बसेको अबस्था , एकजना ससुराको काजक्रिया गर्न जानुपर्ने अवस्था , एकजना लामो बिदामा बसेको अवस्था हुंदा एक जनाले के गर्ने कसो गर्ने भन्ने चिन्ता भयो र प्रदेश प्रमुख सरसंग सल्लाह गरि शाखा कार्यालय सर्दिबाट एकजना कर्मचारी ल्याई गर्जो टार्ने सहमति भयो र सोहि अनुसार काम भयो । दिउंसो ज्वरो नआउने रात परेपछि आउने हुन थाल्यो । सोमबार राती पनि ज्वरो आउने , टाउको दुख्ने , जिउ दुख्ने भयो , सिटामोल खांदै बसियो । यो क्रम मंगलबार पनि हुन थाल्यो र प्रदेश प्रमुखसंग मौखिक रुपमा बिदाको अनुरोध गरि घर आएर आइसोलेसनमा बसें । बुधबारबा दिन पि.सी.आर परिक्षण गर्न चितवन मेडिकल कलेज गएं सो को रिपोट बिहिबार नेगेटिभ आयो । यता रिपोट नेगेटिभ आउने उता विमारी झन बढि हुने अवस्था पो आउन थाल्यो । रिपोट नेगेटिभ आएपनि आइसोलेसनमा नै बसिरहें । बिहिबार बिहानबाट त स्वाद र बास्ना पटक्कै नहुने भयो , ज्वरो १०२ फरेनहाईट छ , टाउको अति दुख्ने , शरिर दुख्ने , सास बढे जस्तो हुने हुन थाल्यो सिटामोल खाँदा केहि कम हुन्छ , ३/४ घण्टामा फेरि उस्तै ।

 

यस्तो क्रम आईतबार सम्म रह्यो । केहि डा.हरुसंग सल्लाह गर्दा यो लक्षण त कोभिड १९ संग मिल्दोजुल्दो छ , कहिलेकाहिं रिपोट बिग्रन पनि सक्छ फेरि एक पटक पि.सि.आर.परिक्षण गर्ने भन्ने सल्लाह भयो र सोहि अनुसार परिक्षण गरियो र तिहारको भाईटिकाको दिनमा रिपोट पोजिेटिभ आयो । भाईटिकाको दिन कोरोना संक्रमित भई आईसोलेसनामा बसेको अवस्था , अरु साथीभाईहरु आ आफ्ना दिदिबहिनीको हातबाट टिका र माला पहिरिई बसेका होलान् मलाई भने के भयो नि यस्तो भन्ने सम्झेर दिक्क लाग्यो । आफ्ना दिदि बहिनि भएको भए टिकाको दिन सम्झिन्थे होलान् , के भयो कसो भयो भनेर फोन गर्दा हुन् , तर आज यस्तो भएको दिन कुनै दिदि बहिनिले सम्झिएनन् । वितेका धेरै बर्षका भाईटिकाको दिन धेरै जना दिदिबहिनिको हातबाट टिका लगाईयो (आफ्नो दिदिबहिनि नभएको कारण कहिले कोहि कहिले कोहि) अब आगामी बर्षदेखि कसैको हातबाट पनि भाईटिका नलगाउने निधो गरेको छु ।

 

यसरी होम आईलोसेनमा बस्दा खाना खाने समय भने अत्यन्त पिडादायी हुन्थ्यो , खाना खाने थाल र कचौरा लिएर ढोका अगाडी राख्ने उक्त थाल र कचौरामा खाना र तरकारी अलक्क खन्याउनुपर्ने अनि सो खाना लिएर माथी आई एक्लै खानुपर्ने अवस्था भयो । दिनभरी घाममा बस्न नसकिने , कहिले जाडो भएर घाममा बस्नुपर्ने कहिले घामले पोलेर सितलमा बस्नुपर्ने हुन्थ्यो । मनमा अनेक कुराहरु मडारिईरहन्थ्यो । साथीभाई तथा आफन्तजनहरुले बेलाबेलामा फोन मार्फत सान्त्वनाका कुराहरु गर्नुहुन्थ्यो । विस्तारै विस्तारै कोरोनाको लक्षण पनि कम हुंदै गयो , बास्ना तथा स्वाद पनि क्रमश आउन थाल्यो , धेरै जसोको १०÷११ दिनमा पुन पि.सि.आर.परिक्षण गर्दा नेगेटिभ आएको खबर पाएँ । मैले पनि सोहि अनुसार ११ दिनमा पि.सि.आर.परिक्षण गराएं तर रिपोट पोजेटिभ आयो ।

 

त्यसपछि प्रत्येक सात सात दिनमा पि.सि.आर.परिक्षण गर्दा रिपोट पोजेटिभ आईरहने अवस्था आयो , पहिलो पोजेटिभ आएको २६औं दिनमा नेगेटिभ आयो । यो २६ दिनको आईसोलेसन बसाई २६ बर्ष भए जस्तो अनुभव भयो । आईसोलेसनमा बस्दा सिटामोल ,भिटामिन सी ,भिटामिन डि , जिंक चक्की , कागती पानी , मनतातो पानी तथा झोलिलो चिजहरुको सेवन गरियो । अन्य कुनै पनि औषधिको प्रयोग गरिएन ।

मदन प्रसाद अधिकारी, भरतपुर ११ चितवन ।