२०७८ बैशाख ४ , शनिवार

कोरोना कहरः सहुलियतको खोपले हानि गरे मुद्दा हाल्न नपाइने

सुनाखरी न्युज/काठमाडौँ — कोभाक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हाल्न नपाइने प्रत्याभूति दिनुपर्ने भएको छ । खोप लगाउने व्यक्तिलाई कुनै हानि–नोक्सानी भए त्यसको जिम्मेवार नहुने गरी उत्पादक कम्पनीले सुरक्षा प्रत्याभूति खोजेको सरकारी अधिकारीले जनाएका छन् ।

कोभिड खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीले कोभाक्सबाट खोप प्राप्त गर्ने सबै १ सय ८९ राष्ट्रले नै आगामी जनवरी ८ तारिखसम्म यस्तो प्रत्याभूति पठाइसक्नुपर्ने बताए । व्यक्तिले खोप लगाएपछि देखिन सक्ने कुनै पनि असामान्य दुष्प्रभावका लागि उत्पादकलाई दोष दिन नपाइने प्रक्रिया सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले तयारी गर्दै छ ।

 

कोभाक्सले नेपाललगायत अन्य मुलुकलाई कुन खोप दिनेबारे अझै टुंगो लागेको छैन । भविष्यमा दिने भनिएको खोपका लागि उत्पादकहरूले दुष्प्रभाव भए आफूमाथि मुद्दा नचल्ने प्रत्याभूति खोजेका हुन् ।

सामान्यतया बजारमा खोप आउन १० देखि १५ वर्ष लाग्न सक्छ तर कोभिडको खोप एक वर्षभित्रै प्रयोगमा आइसकेको छ ।