२०७७ चैत्र ३१ , मंगलबार

अब त बाँकि नै के रह्यो र

आँखाका कुनामा लुकेर बसेका आँसुका थुप्राले बोलिरहेका थिए
छोड्दे काले
अब त बाँकि नै के रह्यो र !

उधोमुन्टो लाएर उभिरहेका आशा पनि बोल्दै थिए

छोड्दे काले
अविश्वासका सर्को तानेको फोक्सो पनि चिच्याउँदै थिए
छोड्दे काले

अब त बाँकि नै के रह्यो र !

पसिनाका पोका बोकेर उभिरहेका निधारले पनि भन्दै थिए
छोड्दे काले
लुते कुकुर झै डुलिरहने यी पाइला पनि बोल्दै थिए
छोड्दे काले
अब त बाँकि नै के रह्यो र !

हृदयमा गासिएका टाका फुकाल्दै , भावनाका भित्ता पलास्टर हुँदै थिए
तिब्र वेगमा गुडिरहेका रगतका थोपा भक्कानिदै रुदै थिए
टालिएका ती सपनीका रङ्गहरु सोच्दै बिपनीले संकेत गरेर भन्दै थिए
छोड्दे काले
अब त बाँकि नै के रह्यो र !

लासका लहरका बिच मस्तिष्कलाई जगाउँदै आत्तिएका शब्दहरु
कराउँदै थिए
छोड्दे काले
अब त बाँकि नै के रह्यो र !

हो काले छोड्दे ,
अब त बाँकि नै केही रहेन
गगनका आँगनमा निर्धक्कसँग रमेका वायुले पनि छोडेन
पहाडको फेदमा कुदिरहेको खोलीको वेगले पनि छोडेन
घडीको भित्री शरीरमा दगुर्ने त
समयको सुइँले पनि छाडेन
हृदयको कुनामा अटल बनेर खडा भएको पिलो पनि बजारिनै लाग्यो
छोड्दे काले
अब त भन्नु नै के रह्यो र !

 

लेखनः- निश्चल आचार्य