२०७७ चैत्र ३० , सोमवार

कोरोना खोप अभियान सुरु गर्दै अमेरिका, के छ नेपालको तयारी ?

सुनाखरी न्युज/ वासिङ्टन —

अमेरिकाले सोमबारदेखि कोभिड–१९ को  खोप अभियान सुरु गर्दै छ । अमेरिकी अधिकारीहरुले खोप लगाउनका लागि आवश्यक पर्ने सामग्रीको आइतबारदेखि ढुवानीको काम सुरु भएको जनाएका छन् । आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर–बायोएनटेक खोप’ अमेरिकामा पनि सर्वसाधारणलाई लगाइने भएको हो । अमेरिकी नियामक निकायले उक्त खोप प्रयोगका लागि शनिबार अनुमति दिएको थियो ।

यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानाडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए । विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण हालसम्म १६ लाख मानिसको मृत्यु भइसकेको छ । तीमध्ये सबैभन्दा बढी अमेरिकाका छन् ।

उक्त खोप ७० डिग्री सेल्सियसको तापक्रमसहितको विषेश अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् । ‘अत्यावश्यक परेका सबैलाई हामीले खोप राम्रोसँग उपलब्ध गराउन सक्छौं भन्ने हामीलाई विश्वास छ, त्यहीअनुसार काम भइरहेको छ,’ खोप वितरण तथा व्यवस्थापन कार्यमा खटिएका एक अमेरिकी अधिकारीले भने ।

उनीहरुका अनुसार सुरुमा यो सप्ताहन्तसम्ममा ३ करोड मात्रा खोप सबै राज्यहरूमा पठाउने कार्य भइरहेको छ । दैनिक मृतकहरुको संख्या उच्च हुँदै गएपछि अमेरिकाले खोप प्रयोगमा हतार गरेको हो ।

अमेरिकामा शनिबार मात्रै एकै दिन ३ हजार ३ सय ९ जनाको कोभिड–१९ का कारण मृत्यु भएको थियो । यो विश्वका कुनै पनि देशमा एकै दिन भाइरसका कारण ज्यान गुमाएकारुको सबैभन्दा ठूलो संख्या हो । अमेरिकामा कोभिड–१९ बाट संक्रमित हुने तथा ज्यान गुमाउने संख्या पछिल्ला दिनहरुमा अत्यधिक रूपमा वृद्धि भएको छ ।

खोप प्रयोग गर्ने पहिलो दिन सोमबार १ सय ४५ स्थानमा खोप प्राप्त हुनेछ भने मंगलबार ४ सय २५ स्थानमा र बुधबार ६६ स्थानमा प्राप्त हुने अधिकारीहरुले जनाएका छन् । पहिलो चरणको खोप वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि सुरु गरिने र यसले धेरैको ज्यान जोगाउने उनीहरुको विश्वास छ ।

एजेन्सी