२०७८ बैशाख ८ , बुधवार

नेपालमा कोरोना विरुद्धको खोप खरिदकाागि ४२ अर्ब लाग्‍ने आँकलन

सुनाखरी न्युज/ काठमाडौँ —

नेपालमा कोरोना विरुद्धको खोप खरिदकाागि ४२ अर्ब लाग्‍ने आँकलन सरकारले गरेको छ । भारतमा उत्पादन भइरहेको कोरोनाविरुद्धको खोप उत्तम हुन सक्ने भन्दै छलफल अघि बढाएको छ । भारतीय खोप सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिस औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँगको सहकार्यमा खोप उत्पादन गरिरहेको छ । कोरोना भाइरसविरुद्ध आपत्कालीन प्रयोगका लागि सिरमले सरकारसँग अनुमति माग गरिसकेको छ ।

उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना खोपसँग सम्बन्धित विषयमा छलफल गर्न शुक्रबार गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरूसँग छलफल गरेका थिए ।

उक्त छलफलमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीले भारतमा उत्पादन हुने खोप ल्याउन सहज, सस्तो र भण्डारण गर्नसमेत सजिलो हुने जानकारी गराएका छन् । ९० प्रतिशतसम्म प्रभावकारिता भएको कोभिसिल्ड नाम दिइएको खोप २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण र ओसारपसार गर्न सकिने कम्पनीले दाबी गरेको छ । बेलायतले आकस्मिक प्रयोग गर्न अनुमति दिएको फाइजरको खोप भण्डारणका लागि माइनस ७० डिग्री सेल्सियससम्मको तापक्रम चाहिने बताइएको छ ।