२०७८ बैशाख ४ , शनिवार

कोरोना बीमाको दाबी भुक्तानीमा किन भयो ढिलाई ? यस्तो छ कारण !

सुनाखरी न्युज/ काठमाडौं-
कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाई भएको भन्दै चौतर्फि आलोचना हुन थालेको छ । यद्यपी यसमा ढिलाई हुनुका केही बिशेष कारणहरु समेत रहेका छन् ।
बीमा क्षेत्रको नियामक निकायकोरुपमा रहेको बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाई हुनुको कारण खुलाएको छ । अर्थ मन्त्रालयले कारोना बीमाको अविलम्ब भुक्तानी गर्न बराम्बर ताकेता गरेपछि समितिले बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै स्पष्टीकरण दिएका हो ।

कोरोना बीमा मापदण्ड अनुसार कोरोना बीमाको दायित्व बीमा समिति र नेपाल सरकारको समेत हुने भएकोले यसको लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुने हुँदा कोरोना बीमा मापदण्ड अनुसार कतिपय बिषयमा स्पष्ट नभएको,कोरोना परीक्षण रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफिकेशनका लागि पठाउनु पर्दा दाबी भुक्तानीमा ढिलाई भएको समितिले जनाएको छ ।

यसैगरी दोहोरो दाबी पर्ने भएकोले पनि भेरिफिकेशन गर्न र दोहोरो भुक्तानी नियन्त्रण गर्न समय लागेको पनि समितिले जनाएको छ ।चौथो कारणमा,गत असोज र कार्तिकमा बीमा कम्पनीहरुका कर्मचारीहरु एवं बीमा समितिमा कार्यरत कर्मचारीहरु समेत संक्रमित भई दैनिक कार्य सञ्चालनमा अफ्ठ्यारो परेकोले कोरोना बीमाको दावी भुक्तानीमा समय लागेको समितिको भनाइ छ ।

दाबी भुक्तानीको लागि यस महिना सबै भन्दा बढी चाप पर्न गएको र यो चाप कम भएपछि नियमित तवरले भुक्तानी प्रकृया संचालन हुने समितिले जनाएको छ । समितिको तथ्यांक अनुसार बुधबारसम्ममा कागजपत्र पुरा भएका १७ हजार २३५ वटा दाबी परेका छन् । यस्तै भेरिफिकेशनका लागि स्वास्थ्य सेवा विभागमा ४ हजार १५२ वटा दाबी पठाएको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ हजार ४९३ वटा भेरिफिकेशन भएर आएका छन् ।

हालसम्म ८ हजार १४५ वटा दाबी भुक्तानी भएको छ । यस्तै सबै कागजपत्र पुरा भएर ९ हजार ९० वटा दाबीका लागि भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ ।यसैगरी कागजपत्र नपुगेका १ हजार १३६ वटा आबेदन पुनः निर्जीवन बीमा कम्पनीहरुमा फिर्ता पठाइएको समितिले जनाएको छ ।

समितिले कोरोना बीमा मापदण्ड अनुसार आवश्यक कागजपत्रहरु पुरा नभइ पुल व्यवस्थापक शिखर इन्स्योरेन्समा पठाउने गरेको जनाएको छ । समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई दाबी भुक्तानीका लागि आवश्क कागजपत्र हेरेर रुजु गरेर मात्रै पठाउन समेत निर्देशन दिएको छ ।