२०७८ बैशाख ८ , बुधवार

हालसम्मकै ठूलो आइपिओ ल्याउन पूर्वाधार बैंकले माग्यो अनुमति

सुनाखरी न्युज/ काठमाडौँ -नेपालमा हालसम्मकै ठूलो संख्यामा प्राथमिक सेयर (आइपिओ) निश्कासनका लागि पूर्वाधार बैंकले अनुमति मागेको छ। बैंकले कुल ८ करोड कित्ता सेयर निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले अंकित मूल्य १ सयका दरले ८ अर्ब रुपैयाँको सेयर निश्कासन गर्न लागेको हो।

 

आइपिओ निश्कासनका लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रवन्धकका रुपमा छनौट भएको छ। यसअघि बसेको बैंकको साधारणसभाले आइपिओ निश्कासनको निर्णय पारित गरेको थियो। अब धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपिओ निश्कासन गर्नेछ। बैंकले जारी गर्ने ८ करोड कित्ता आइपिओ अहिलेसम्मकै धेरै परिणामको हो। आइपिओ भर्ने सबैलाई यो कम्पनीको सेयर बाँडफाँड गर्न पुग्नेछ। अर्थात प्रक्रिया पुगेर आइपिओ भरेकाहरुको हात खाली हुने छैन। हाल प्राथमिक सेयर भर्नेको संख्या ८ लाखभन्दा बढी हुने गरेको छ। यो विभिन्न विकास आयोजनाहरुमा ऋण लगानी गर्नका लागि स्थापित भएको बैंक हो। यो बैंकले निक्षेपका रुपमा रकम जम्मा गरी स्रोत जुटाउँछ। त्यस्तै ऋणपत्र जारी गरेर पनि रकम संकलन गर्दछ। संकलित रकम पूर्वाधारका क्षेत्रमा लगानी गर्छ।

 

आइपिओ निश्कासनपछि बैंकको चुक्ता पुँजी २० अर्ब हुनेछ। पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ छ। कम्पनीले सो अवधिमा १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले स्राेत संकलन गर्दा कम्तीमा ५ वर्षका लागि हुनेगरी व्यक्तिगततर्फबाट न्यूनतम १ करोड रुपैयाँ र संस्थागततर्फबाट न्यूनतम ५ करोड रुपैयाँ निक्षेपका रुपमा स्वीकार गर्दछ। संस्थागत निक्षेपकर्तालाई ६.५ देखि ६.६ प्रतिशतसम्मको ब्याज दिन्छ भने व्यक्तिगतलाई ७. २५ प्रतिशतसम्म ब्याज प्रदान गर्दछ।