२०७८ बैशाख ८ , बुधवार

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर

सुनाखरी न्युज/काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई सार्वजनिक भएको छ । मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेको हो। सगरमाथाको नयाँ उचाइ ८८४८. ८६ मिटर कायम भएको छ ।

 

उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो । चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेको विभागले जनाएको छ । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो ।

 

यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो । सगरमाथाको उचाइ नेपाल र चीनमा एकै साथ उद्घाटन हुने सहमति २०१९ को अक्टोबरमा भएको थियो ।