२०७७ चैत्र ३० , सोमवार

अब मेरोशेयरको मोबाइल एपबाटै आईपिओको आवेदन दिन सक्ने

सुनाखरी न्युज/काठमाडौँ – सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरोशेयरको एपमा सीआस्वा सेवा थप गर्ने भएको छ। सिडीएसले यही साता एपमा सीआस्वा सेवा थप गर्न लागेको हो । सिडीएसका प्रवक्ता सुरेश न्यौपानेले १-२ दिन मै एपमा सीआस्वा सेवा थप गर्न लागिएको बताए । एपमा सो सेवा थपिएसंगै लगानीकर्ताले एपबाट नै आईपिओमा आवेदन दिन सक्ने छन् ।

 

प्रवक्ता न्यौपानेका अनुसार सेवा थप गरेपछि कुनै समस्या नआए मङ्सिर २९ गते बाट खुल्ने प्रभु लाइफ इन्स्योरेन्सको आईपिओमा लगानीकर्ताले एपबाट नै आवेदन दिन सक्ने छन् । हालसम्म एपमा आइपिओमा आवेदन दिने सुविधा थिएन । लगानीकर्ताले मेरोशेयरको वेबसाइट बाट आईपिओमा आवेदन दिदै आएका थिए । अब भने एपबाट नै आईपिओको लागि आवेदन दिन सकिने भएको हो । सिडीएसले गत भदौ ३१ गते एपको बेटा भर्जन सार्वजनिक गरेको थियो । सिडीएसले मेरोशेयरको वेब भर्जनमा भएका सीआस्वा सेवा बाहेकका सबै सेवा प्रयोग गर्न सकिने गरि एप सार्वजनिक गरेको थियो ।

 

सिडीएसले हाल यो एप एनड्रोईड प्रयोगकर्ताको लागि मात्र उपलब्ध हुने र निकट भविष्य मै आईओएस प्रयोगकर्ताहरुलाई ल्याईने जनाएको छ । सिडीएसले एपको डेभलपर विबरणमा सिडिएस एण्ड क्लियरिङ लि. लेखिएको एप मात्र डाउनलोड गर्न र कुनै पनि किसिमको एपीके लिंकमा मेरो शेयरको एप अपलोड नगरिएको प्रष्ट पारेको छ । सिडीएसले तल चित्रमा देखाए अनुसारको एप मात्र डाउनलोड आग्रह गरेको हो ।