२०७८ बैशाख ४ , शनिवार

बन्चरेडाँडामा पुस पहिलो सातादेखि फोहोर विसर्जन गर्ने तयारी

सुनाखरी न्युज/काठमाडौँ – आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जनाएको छ। पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताएको हो। केही समय कोरोना महामारीका कारण काम रोकिएको र निर्माण कम्पनीको आलटालका कारण काम नभए पनि अहिले काम तीव्रगतिमा भइरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले बताए।

 

ल्याण्डफिल साइट निर्माणको कामअन्तर्गत अहिले माटो मिलाउने काम भइरहेको छ। दुई हप्ताअघि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले स्थलगत अवलोकनका क्रममा यही मङ्सिर १५ गतेदेखि फोहोर व्यवस्थापन गर्न मिल्ने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए। हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्दछ। काठमाडौं महानगरपलिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णयअनुरुप मन्त्रालयले उक्त जिम्मेवारी पाएको हो। करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहोर विसर्जनस्थल निर्माण हुनेछ ।

 

बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ३४ करोड ६८ लाख ७४ हजार ८९५ को सम्झौता भएको थियो। निर्णयानुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विसर्जनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ। तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाकाको १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको छ। उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहोर निस्कन्छ। सबैभन्दा बढी कामपाबाट निस्कने गरेको छ। काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहोर लगिने गरिएको छ।