२०७८ बैशाख ४ , शनिवार

गणतन्त्रमाथि प्रश्न उठाउँदै युवाहरु सडकमा आएपछि प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

सुनाखरी न्युज/काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । देशभर राजावादीहरुको आन्दोलन बढेसँगै यसबारे छलफल गर्नका लागि ओलीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको पुष्टि गरे ।

 

संघीय संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी बैठक बोलाइएको बताइएको छ । पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँदै आएका छन् । गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका थिए । नेकपाको स्थायी समिति बैठकमा समेत यसबारे प्रभावशाली नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गरेका थिए ।

 

शर्माले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई सम्बोधन गरेर पेश गरेको विशेष प्रस्तावमा सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्र विरोधीहरु उत्साहित भएको उल्लेख गरिएको छ । नेकपाको सरकार र गृह प्रशासनले यस्ता कृयाकलापको रक्षा गरिरहेको छ भन्ने जन आवाज सुन्निन थालेको भन्दै संघीयताको पक्षधर सबै पार्टीहरुको बीचमा छलफल आयोजना गरी जनभावना अनुसार अघि बढ्नुपर्नेमा जोड दिइएको छ । कोरोना महामारीका बीच नै गणतन्त्रमाथि प्रश्न उठाउँदै ठूलो संख्यामा युवाहरु सडकमा आएपछि तरंग उत्पन्न भएको छ । यसअघि प्रधानमन्त्रीले गत वैशाखमा भारतले सीमा मिचेपछि सर्वदलीय बैठक बोलाएका थिए ।