सुनाखरी न्युज / काठमाडौं ।
बजारमा तेलको मूल्य मनपरी ढंगले वृद्धि भएको छ । एक महिनाको अवधिमा तोरी, सोयाबिन र सूर्यमुखी तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि भएको हो ।
तिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयाबिन तेल १७० देखि ८० रुपैयाँ पुर्याइएको छ । यस्तै १६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दामाथि पुर्याइएको हो ।
तोरीको तेलको मूल्य पनि कम्पनीअनुसार लिटरमा २० रुपैयाँभन्दा बढीले बढेको खुद्रा ब्यापारीहरुले बताएका छन् । होलसेलबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा ब्यापारीलाई जानकारी गराइएको नेपाल खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।
‘मूल्य बढेको छ भनेर नयाँ मूल्य होलसेलले पठाएका छन् तर हामीलाई कारण थाहा छैन्,’ महासचिव तुलाधरले भने ।
उपभोक्तालाई एक महिनाको बीचमै तेलको भाउ लिटरमै ५० रुपैयाँसम्मले बढेको भन्नै नसक्ने अवस्था सृजना भएको तुलाधरले बताए । महिनौंअघि उद्योगमा प्याकिङ अवस्थामा रहेका तेलको भाउ पनि ब्यापारीहरुले एक्कासी बढाएर बजारमा पठाएको तुलाधरको आरोप छ ।
तेलको अधिकतम् खुद्रा बिक्री मूल्य बढेको नदेखिने गरी होलसेलले तेलको भाउ बढाएको खुद्रा व्यापारीहरुले बताएका छन् । प्याकेटमा पुरानै मितिमा लेखिएको एमआरपी भएपनि होलसेलले भने नयाँ मूल्य लगाउँदा ग्राहकलाई तेल बेच्न नसक्ने अवस्था सिर्जना भएको खुद्रा व्यवसायी ध्रुब अधिकारीले बताए ।
पछिल्लो एक सातादेखि बजारमा तेलको भाउ बढेपनि अनुगमनकारी निकाय मौन बसेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।
लिटरमा ५० रुपैयाँले तेलको मूल्य बढ्दा पनि सरकार मौन बस्नु अपराध भएको उनको भनाइ छ ।