२०७७ चैत्र २९ , आइतवार

मार्जिन सीमाको विरोध गर्दै लगानीकर्ताले राष्ट्र बैकमा बुझाए ज्ञापन पत्र

सुनाखरी न्युज/ काठमाडौं – नेपाल राष्ट्र बैकले शेयर धितो कर्जामा गर्न लागेको कडाइको विरोध गर्दै आइतबार शेयर बजारसँग सम्बन्धित सङ्गठित लगानीकर्ताको समूहले ज्ञापन पत्र बुझाएको छ। आइतबार केन्द्रीय बैकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलाई भेटेर सङ्गठित लगानीकर्ताले ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्र बुझ्दै सिवाकोटीले केन्द्रीय बैकले शेयर बजारलाई असर नपर्ने गरी नीतिमा लचकता अपनाउने आश्वासन दिएको नेपाल शेयर लगानीकर्ता सँघका उपाध्यक्ष तारा फुलेलले जानकारी दिए। उनका अनुसार गभर्नर महाप्रसाद अधिकारीको समेत म्यासेज मार्फत आश्वासन पाएको फुलेलको भनाइ छ।

 

पछिल्लो समय केन्द्रीय बैकले मौद्रिक नीतिको पहिलो समीक्षामा शेयरमा हुने ऋण प्रवाहमा परिवर्तन गरिने बताएको थियो। तर केन्द्रीय बैकले के कति परिवर्तन गर्ने भने भनिसकेको छैन। त्यस अघि नै लगानीकर्ताले त्यसको विरोध गर्न थालेका छन्। केन्द्रीय बैकले छोटो समयमै गर्ने नीतिगत परिवर्तनले सम्पूर्ण लगानीको वातावरणनै बिग्रने सङ्गठित लगानीकर्ताहरूको भनाइ छ। उनीहरूले मार्जिन सीमामा परिवर्तन भए त्यसको चर्को विरोध गर्ने विज्ञप्तिमा लेखेका छन्।

 

यस अघि मौद्रिक नीति मार्फत शेयर कर्जाको मार्जिन सीमा ६५ प्रतिशत बाट बढाएर ७० प्रतिशत पुर्‍याइएको थियो। पछिल्लो समय शेयर बजार बढ्दो गतिमा देखिएपछि केन्द्रीय बैकले उक्त सीमा घटाउने समीक्षा मारत सङ्केत गरेको छ। नेपाल इन्भेष्टर फोरम,शेयर लगानीकर्ता संघ नेपाल,नेपाल पुँजी बजार लगानीकर्ता संघ,नेपाल पुँजी बजार संघ र शेयर लगानीकर्ता दबाब समूहले सिवाकोटीलाई ज्ञापन पत्र बुझाएका हुन्।